मानवपुँजी,पूर्वाधार,ऊर्जा,व्यापार र खुल्लापनमा लगानी केन्द्रित गर्न नेपाललाई सिङ्गापुरका राष्ट्रपतिको सुझाव


काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डि. सि. मा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आज सिङ्गापुरका राष्ट्रपति थार्मान सनमुगारात्नमसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा राष्ट्रपति थार्मानले देशको तिव्र आर्थिक विकासका लागि मानव पुँजी, पूर्वाधार, ऊर्जा, व्यापार र खुल्लापनमा लगानी केन्द्रित गर्न अर्थमन्त्रीलाई सुझाव दिएका छन् ।

अर्थमन्त्री खनालले नेपाल सरकारले युवाको चाहना अनुरुप सुशासन कायम गरी आर्थिक विकासमा केन्द्रित हुने लक्ष्यका साथ काम गरिरहेको बताए ।

अर्थमन्त्री खनालले आजै अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का उपाध्यक्ष सहितका अधिकारीहरूसँग समेत अन्तक्र्रिया गरेका छन् ।

सो अवसरमा अर्थमन्त्री खनालले अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा लगानी बढाउँदै लगेकोमा धन्यवाद दिए ।

अर्थमन्त्री खनालले नेपालमा निजी क्षेत्रको विकास र प्रतिस्पर्धात्मक क्षमता विकासमा निगमको थप लगानी र प्राविधिक सहयोगको अपेक्षा गरे ।

अन्तर्राष्ट्रिय वित्त निगमका अधिकारीहरूले नेपालमा निगमको लगानी वृद्धि गरिने जानकारी दिंदै अन्तर्राष्ट्रिय पुँजीको आप्रवाह बढाउन केही कानुनी र नियामकिय प्रबन्धहरूमा सुधारको खाँचो रहेको बताएका थिए ।

प्रतिउत्तरमा मन्त्री खनालले नियामकीय प्रबन्धहरूमा तत्काल सुधार गर्ने उल्लेख गर्दै कानुनी सुधारका लागि समेत आवश्यक तयारी गरिने आश्वासन दिए ।