पुष्प मेलाको चौथो दिनः ३४ हजारले अवलोकन गर्दा एक करोड तीन लाखको कारोबार


काठमाडौँ । ललितपुरको जावलखेलमा १८ औं गोदवारी फूलको प्रतियोगितात्मक प्रदर्शनी चार दिनदेखि दिन जारी छ । फ्लोरिकल्चर एसाेसिएसन नेपालको आयोजनामा जारी प्रदर्शनीमा शनिवारसम्म ३४ हजार ८०० जना भन्दा बढी अवलोकर्ताले अवलोकन गरेका छन् ।

असोज २९ गतेदेखि सुरू भएको मेलामा पहिलो दिन सात हजार २०० जना, दोस्रो दिन सात हजार ५००, तेस्रो दिन आठ हजार ६०० जना र चौथो दिन अर्थात आज शनिवार ११ हजार ५०० जनाले अवलोकन गरेको एसोसिएसनले जनाएको छ । चार दिनमा ३४ हजार ८०० ले अवलोकन गर्दा एक करोड तीन लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको एसोसिएसनले जनाएको छ ।

शनिवार भएको कारण अरू दिनको तुलनामा बढी अवलोकर्ता आएका थिए र सोही अनुसार कारोवार भएको एसोसिएसनले जनाएको छ । शनिबार बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेल, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डेले मेला अवालोकन गरेका थिए ।

भोलि आइतवारसम्म चल्ने मेलामा ४० हजार भन्दा बढीले प्रत्यक्ष अवलोकन तथा एक करोड तीस लाख रुपियाँ भन्दा बढीको व्यवसायीक कारोबार हुने आयोजकले अनुमान गरेको छ । नजिकै आइरहेको तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गरिएको फ्लोरीकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

गोदावरी फूलको एक मात्र बृहत प्रदर्शनी रहेको यस मेलमा व्यवसायिक स्टल ८०, प्लान्ट क्लिनिक स्टल १, अफिसियल स्टल ५, प्रतियोगितात्मक स्टल २, र फोटो सेल्फी स्टल २ गरी जम्मा ९० वटा प्रदर्शनी कक्षहरू रहेको छ ।

विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको चार वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ) मा प्रतिस्पर्धा गरिएको थियो । देशभर ५२ जिल्लामा करिब २७० हेक्टरमा पुष्प खेती हुँदै आइरहेको छ । हाल एक हजार २३५ भन्दा बढी व्यवसायी यस क्षेत्रमा संलग्न छन् र करिब ५३ हजारभन्दा बढी जनशक्ति प्रत्यक्ष–अप्रत्यक्ष रूपमा रोजगारमा पाएका छन् ।

पुष्प व्यवसायमा करिब आठ अर्ब ८३ करोड रुपैयाँ लगानी भएको अनुमान छ । वार्षिक कारोबार तीन अर्ब ३७ करोड रुपैयाँ पुगेको फ्यानले जनाएको छ । आयोजकका अनुसार पुष्प बजारमा हरेक वर्ष १० देखि १५ प्रतिशतले माग बढ्दै गएको छ ।