स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ


काठमाडाैँ । जवरजस्ती करणी घटनामा संलग्न भई फरार रहेका एक युवकलाई प्रहरीले लामो अनुसन्धानपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार वालिङ नगरपालिका–१४ पेखुदेउरालीका २५ वर्षीय सागर खवासलाई प्रहरीको विशेष अपरेशन टोलीले वालिङ नगरपालिका–१ ओडारेबाट पक्राउ गरेको हो ।

२०८१ साल वैशाख १ गते राति वालिङमा घटेको भनिएको घटनाको आधारमा पीडितले दिएको जाहेरीका आधारमा जवरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरिएको थियो । त्यसपछि फरार रहेका खवासको खोजी कार्य जारी थियो । अन्ततः आज वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष टोलीले उनलाई लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका खवासलाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखी कानूनी प्रक्रिया अघि बढाइएको छ ।