असोज मसान्तसम्म सरकारको राजस्व सङ्कलन लक्ष्यको ७८ प्रतिशत मात्रै, गत वर्षको तुलनामा कमी


काठमाडाैँ । चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्म सरकारको राजस्व सङ्कलन गत वर्षको तुलनामा केही कम भएको देखिएको छ। राजस्व व्यवस्थापन सूचना प्रणालीका अनुसार यस वर्ष असोज मसान्तसम्म जम्मा २ खर्ब ५१ अर्ब १८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ, जुन सो अवधिको लक्ष्य ३ खर्ब २१ अर्ब ५३ करोड रुपैयाँको ७८.१२ प्रतिशत मात्र हो।

यस आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्य १४ खर्ब ८० अर्ब रुपैयाँ तोकिएको छ। असोज महिनाको लागि छुट्टै लक्ष्य १ खर्ब ३ अर्ब ७ करोड रुपैयाँ रहेकामा सो महिनामा जम्मा ९२ अर्ब ४७ करोड रुपैयाँ मात्र सङ्कलन भएको छ। यसअनुसार असोज महिनाको राजस्व प्राप्ति ८९.७१ प्रतिशत पुगेको छ। असोज ३१ गते एकैदिन ८ अर्ब ६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको तथ्याङ्कमा उल्लेख छ।

गत आर्थिक वर्ष २०८१/८२ मा भने असोज मसान्तसम्म सरकारको राजस्व सङ्कलन २ खर्ब ५३ अर्ब १ करोड रुपैयाँ पुगेको थियो। त्यस वर्षको वार्षिक लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रहेको र असोज महिनामा मात्र ८३ अर्ब ५० करोड रुपैयाँ राजस्व सङ्कलन भएको राजस्व व्यवस्थापन सूचना प्रणालीको विवरणमा जनाइएको छ।