रुकुम पश्चिममा दुर्घटनामा मृतककाे सङ्ख्या आठ पुग्याे


काठमाडाैँ । रुकुम पश्चिममा भएको बोलेरो जीप दुर्घटनामा मृतककाे सङ्ख्या आठ पुगेको छ भने दस जना घाइते भएका छन् । जिल्लाको मुसिकोट खलंगाबाट स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जीप बाँफिकोट गाउँपालिका–७ लिस्ने भिरमा हिजाे दुर्घटनाग्रस्त भएको थियाे ।

जीप सडकबाट करिब सय मिटर तल खसेको थियो । दुर्घटनामा मृत्यु हुने सबै आठ जना आठबिसकोट नगरपालिकाका रहेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि पुनले जानकारी दिएका छन् ।

उनका अनुसार वडा नम्बर ३ की ३० वर्षिया कमला ओली, वडा नम्बर १ का १६ वर्षिय टेकजंग बुढा, वडा नम्बर १ का १५ वर्षिया दिलमाया बुढा, वडा नम्बर २ का १७ वर्षिया मनिका ओली, वडा नम्बर २ का १८ वर्षिया सर्मिला बिक, वडा नम्बर २ का २२ वर्षिय गोपाल ओली, वडा नम्बर १ का १५ वर्षिया कल्पना नेपाल र वडा नम्बर १ का २८ वर्षिया सबिता बिककाे मृत्यु भएकाे छ ।

दुर्घटनामा परेर घाइते हुनेमा सिर्जना बुढा (१७), सपना नेपाल (१५), जुना बुढा (१८), संगिता बुढा (१७), शान्ति बुढा (१९), अञ्जना ऐरी (१७), महिमा ओली (२०), मनिषा थापा (१७), सबिता बिक (१५) र चालक टोपजंग बुढा (३४) रहेका छन् । चालक बाहेक सबै घाइते आठबिसकोट नगरपालिका–१ का हुन् ।

गम्भीर घाइते जुना बुढालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । प्रहरी टोली घटनास्थलमा पुगेको र थप अनुसन्धान जारी रहेको बताइएको छ ।