काठमाडौँ । प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जेनजी आन्दोलनमा अपराधिक गतिविधि गर्नेहरू दण्डित हुने स्पष्ट पारेका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महानिरीक्षक खापुङले आन्दोलनको बहानामा अपराधिक कार्यहरू पनि भएको उल्लेख गर्दै उनीहरूमाथि कारबाही हुने बताएका हुन् ।
उनले भने,“ जेनजी आन्दोलनको बहानामा, त्यही परिस्थितिमा समाजलाई धमिल्याउन खोज्ने अपराधिक प्रवृत्तिहरू पनि चलखेल भएको देखिएको छ । त्यो वास्तवमा गलत हो र त्यो अपराधिक कार्य नै हो । त्यस्ता अपराधिक कार्यहरू दण्डित हुनुपर्छ । उनीहरू क्रमशः दण्डित हुन्छन् भन्नेकुरा यहाँहरूसबै समक्ष आश्वस्त पनि बनाउन चाहन्छु ।”
प्रहरी महानिरीक्षक खापुङले समाजलाई धमिल्याउने अपराधिक गतिविधिहरूलाई प्रहरीले कुनैपनि हालतमा रोक्नुपर्ने भएकाले त्यस्ता तत्वलाई निशाना बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको समेत बताए ।
जेनजी आन्दोलनपछि प्रहरीहरुको मनोबल खस्केको भन्ने भनाईमा सत्यता नरहेको पनि उनको स्पष्टिकरण थियो ।
प्रहरी महानिरीक्षक खापुङले जेनजी आन्दोलनपछि प्रहरीहरू स्थानीय जनताको सहयोगमा नै सबै चौकीहरूमा पुनःस्थापना हुन सकेको बताए ।



प्रतिक्रिया दिनुहोस्