काठमाडाैँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दलहरुलाई आग्रह गरेकी छिन् ।
सोमबार काठमाडौँको ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाईतेहरुसँगको भेटपछि उनले अब निर्वाचन भाँड्ने नाममा आन्दोलन नगर्न सबै शक्ति र व्यक्तिहरुको ध्यानाकर्षण गराइन् ।
मन्त्री गौतमले सरकार निर्वाचनमा केन्द्रित भएकाले त्यसको विरोध गरिरहन आवश्यक नभएको जिकिर समेत गरे । उनले घाइते विरामीहरूले आफूलाई अस्पतालको कुऋति र बेथितिको बारेमा ध्यानाकर्षण गराएको उल्लेख गर्दै उनीहरुले दिएको सुझावको आधारमा अस्पतालहरुको सुधारमा लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । त्यस क्रममा उनले आफूले गरेका सबै कामहरु पारदर्शी ढंगले जनताको बीचमा लैजाने संकल्प लिएको समेत गरिन् ।
मन्त्री गौतमले भनिन्, “बिरामीहरुको अवस्था हेर्दाखेरी मलाई धेरै गाह्रो भयो । म मुलुक आन्दोलनमा नजाओस भन्न चाहन्छु । र जसले सरकारको विरोध गर्नुहुन्छ, चुनाव भाँड्न खोज्नुहुन्छ । त्यो नगर्नुस् भनेर म सबैलाई अनुरोध गर्न चाहन्छु । हाम्रो जन आन्दोलनको मर्म के थियो भने यि कुऋति, बेथितिहरु सबै हटुन् भन्ने थियो । त्यसका लागि आएका सकारात्मक सुझावहरुलाई ग्रहण गर्दै हामी सबैले त्यही दिशामा कार्यरत रहनुपर्छ । र मैले गरेका कामहरु कति, के भयो भन्ने कुरा म ट्रान्सपरेन्टली ढंगले देखाउनेछु भनेर पनि भन्नेछु ।”
मन्त्री गौतमले यसअघि बिहानै काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा रहेका जेनजी आन्दोलनका घाइतेहरुको अवस्थाबारे पनि जानकारी लिएकी थिइन् । त्यस क्रममा उनले अस्पतालले उनीहरुको उपचारमा कुनै कमी नगरेको आफूले पाएको बताइन्।
उनले जेनजी आन्दोलनका शहीद र घाईतेहरुको बलिदान खेर जान दिन नहुने बताइन् । उनले केएमसी अस्पतालले जेन जी आन्दोलनका क्रममा घाईते भएका ८३ जनाको उपचार गरेको र २ जना मात्रै अहिले उपचाररत रहेको बताइन् । उपचाररत घाईतेमध्ये एक जना महिला रहनुभएको र उहाँमाथि आन्दोलनका क्रममा पेट्रोल बम प्रहार भएको पाएको उल्लेख गरिन् ।
अर्को एक घाईते गोली लागेर उपचाररत रहेको जानकारी दिइन् । दुवै घाईतेको अवस्था सुधारोन्मुख रहेको उनकाे भनाइ छ । शहीदको बलिदान खेर जान नदिनेतर्फ आफूहरु सचेत रहेको र जेन जीहरुको भ्रष्टाचार हुनु नहुने, सुशासन कायम हुनुपर्ने मागलाई बिर्सन नहुने उनले बताइन् ।
उनले शहीदको बलिदानको अवमूल्यन गर्न नहुने उल्लेख गरिन् ।



प्रतिक्रिया दिनुहोस्