विप्लव रणनीति : दल दर्ता गरेर राख्ने तर सुशीला कार्की नेतृत्वको सरकारले गर्ने चुनावमा भाग नलिने


काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट नेपालले दल दर्ताका लागि निवेदन दिएको छ ।

पार्टी गठनपछि नेकपाले नाम परिवर्तन गरेर कम्युनिस्ट पार्टी नेपाल बनाई पहिलोपटक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो ।

बुधबार प्रवक्ता खड्गबहादुर विश्वकर्मा, स्थायी समिति सदस्य तथा कार्यदलका संयोजक कर्णजित बुढाथोकी र सदस्य चिरञ्जीवी ढकाल लगायत आयोग पुगेर पार्टी दर्ताका लागि निवेदन दिएका थिए ।

गत निर्वाचनमा दल दर्ता नगरेर आफ्ना नेता कार्यकर्तालाई स्वतन्त्र उम्मेदवार बनाएको थियो । जेनजी विद्रोपछि सरकारले फागुन २१ गते चुनावको घोषणा गरेपछि नेकपाले दल दर्ताका लागि निवेदन दिएको हो ।

सुशीला कार्की नेतृत्वको सरकारले गर्ने चुनावमा भाग नलिने

विगतमा निर्वाचन बहिस्कार गर्दै आएको पार्टीले अब निर्वाचन प्रक्रियामा भाग लिने छ । विश्वस्त स्रोतका अनुसार नेपाल कम्युनिस्ट पार्टी नेपालले सुशीला कार्की नेतृत्वकै सरकारले गर्ने चुनावमा भने भाग नलिने निर्णय गरेको छ ।

जेनजी विद्रोपछि बसेको विशेष केन्द्रीय समिति बैठकले कार्की नेतृत्वमा चुनाव सम्भव नभएको र चुनाव गरे पनि भाग नलिने निर्णय गरेको छ ।

स्रोतले भन्यो,“ हाम्रो बुझाईमा आगामी फागुन २१ मा चुनाव हुँदैन । चुनाव भए पनि अहिलेको सरकारले गर्ने चुनावमा हामीले भाग नलिने निर्णय गरेका छौँ । ”

नेकपाले कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न मागसमेत गरेको छ ।

नेकपाले नयाँ अन्तरिम सरकार, सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्नेमा जोड दिएको छ ।

नेकपा स्थायी कमिटी सदस्य अनिल शर्मा विरहीले भने,“ अहिलेको सरकारको नेतृत्वमा हुने चुनावमा भाग नलिने भन्ने त होइन तर विश्वसनीय वातावरण नै छैन । अन्य दलले के गर्छन हामी हेर्छौँ । वातावरण कसरी बन्छ त्यो पनि हेर्छौ अनि निर्णय गर्छौँ ।”

स्रोतहरूका अनुसार नेकपाले कार्की नेतृत्वको सरकारले गर्ने चुनावमा भाग नलिने निर्णय गरिसकेको छ ।

कार्की नेतृत्वको सरकार लम्बिने र अहिलेकै अराजकताको स्थिति रहे समानन्तर सरकारको अभ्याससम्म जाने गरी नेकपाले बाटो खुल्ला राखेको पार्टी निकट स्रोतहरूको दाबी छ ।

नेकपाले दबाब बढाउन कात्तिक २० गते काठमाडौँमा प्रर्दशन र सभाको कार्यक्रम समेत तय गरेको छ ।