काठमाण्डौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा अघिल्लो वर्षको तुलनामा नाफा घटाए पनि सम्पूर्ण वित्तीय सूचकहरूमा सुधारको संकेत देखिएको छ।
गत वर्ष समिक्षा अवधिमा २ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको बैंकको यस वर्ष सोही अवधिमा खुद नाफा १४.५७ प्रतिशतले घटेर १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।
ब्याज दरमा आएको गिरावट र कर्जाको विस्तार सुस्त हुँदा बैंकको खुद ब्याज आम्दानी ५.७७ प्रतिशतले घटेर ३ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यो रकम ४ अर्ब १४ करोड रुपैयाँ थियो।
तर, खुद शुल्क तथा कमिसन आम्दानी ६.२९ प्रतिशतले बढ्दै ७९ करोड ८७ लाख रुपैयाँ पुगेको छ, जसले बैंकको सञ्चालन आम्दानीमा केही सकारात्मक सहयोग पुर्याएको छ।
कुल सञ्चालन आम्दानी भने १.०३ प्रतिशत घटेर ५ अर्ब २७ करोड रुपैयाँमा पुगेको छ। सञ्चालन नाफा पनि १०.८४ प्रतिशत घट्दै २ अर्ब ५८ करोड रुपैयाँमा सीमित भएको छ।
यस अवधिसम्म बैंकको ग्राहक निक्षेप ५५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको अन्त्यको तुलनामा ६।१० प्रतिशतले वृद्धि हो। त्यस्तै, कर्जा प्रवाह १।९९ प्रतिशत बढ्दै ४२१ अर्ब रुपैयाँमा पुगेको छ।
बैंकको बेस रेट ५.५८ प्रतिशत र ब्याजदर अन्तर ३.५१ प्रतिशत रहेको छ। अघिल्लो वर्षको तुलनामा बेस रेट १.४४ प्रतिशतले घटेको हो, जसले बजार ब्याजदरमा सहजता आएको संकेत गर्छ।
असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ५ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी २५ रुपैयाँ ९७ पैसा मात्र रहँदा वितरणयोग्य प्रतिशेयर आम्दानी ३० रुपैयाँ १५ पैसा पुगेको छ, जसमा वृद्धि देखिएको छ।
बैंकको नेटवर्थ प्रतिशेयर २४० रुपैयाँ ७२ पैसा र पुँजी पर्याप्तता अनुपात १२.६७ प्रतिशतमा स्थिर रहेको छ।
गुणस्तरका दृष्टिले बैंकले सुधार देखाएको छ। निष्क्रिय कर्जा ०.९७ प्रतिशतमा घटेको छ, जुन अघिल्लो वर्षको १.४२ प्रतिशतभन्दा राम्रो हो।




प्रतिक्रिया दिनुहोस्