सुरक्षण मुद्रण केन्द्रले थाल्यो सवारीचालक अनुमति पत्रको छपाइ


काठमाडाैं । काभ्रेमा रहेको सुरक्षण मुद्रण केन्द्रले सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइको कार्य शुभारम्भ गरेको छ । 

सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइको शुक्रवार सञ्चार सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले शुरुवात गरेका हुन् । गत भदौ अन्तिम साताको जेन–जी आन्दोलनको क्रममा यातायात व्यवस्था विभागको लाइसेन्स छाप्ने मसिनसहितका उपकरण आगजनीबाट क्षतिग्रस्त भएपछि विभागले केन्द्रबाट लाइसेन्स छाप्न लागेको हो ।

विभागसँगको समन्वयमा केन्द्रले पहिलो चरणमा १२ लाख सवारीचालक अनुमतिपत्र छाप्ने केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले बताए । उनका अनुसार दैनिक पाँच सयका दर लाइसन्स छापिने छन् । ढुंगालाले यातायात व्यवस्था विभागले दिएको तथ्यांअनुसार पहिलो तीन महिनामा एक लाख र अर्को तीन महिना छपाई क्षमता बढाउँदै लैजाने जानकारी दिए । उनले लाइसेन्सको वैधानिकता जाँच गर्नको लागि २६ वटा सुरक्षा संकेतहरु राखिने पनि बताए। 

गत जेठमा नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रबिच छाप्न बाँकी २८ लाख हाराहारी लाइसेन्स छाप्ने सम्बन्धमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । उक्त समझदारी साढे चार महिनापछि कार्यान्वयनमा गएको हो ।