इटहरीमा एमएडब्लू वृ‌द्धि मोटर्सद्वारा ‘नामी भिगो’ इलेक्ट्रिक एसयूभीको अनावरण, यस्ता छन् विशेषता


काठमाडाैँ । एमएडब्लू वृ‌द्धि मोटर्सले इटहरीमा ‘नामी भिगो’को अनावरण गरेको छ। डोंगफेंग नामी इलेक्ट्रिक भेहिकल्सका नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृ‌द्धि मोटर्स हाे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ इटहरीका अध्यक्ष जीवन पराजुली, सिर्जना मोटर्सका प्रबन्ध निर्देशक दीपेन्द्र चौधरी, पूर्वेली यातायातका अध्यक्ष सरोज श्रेष्ठ, एमएडब्लू वृ‌द्धि मोटर्सका प्रमुख कार्यकारी अधिकारी प्रशन्न पन्त, कम्पनीका सेल्स प्रमुख राजेन्द्र सिग्देल र डिलर प्रमुख गोविन्द भुसालले संयुक्त रूपमा नामी भिगोको आवरण हटाउँदै औपचारिक रूपमा नेपाली बजारमा प्रवेश गराएका थिए ।

नामी भिगो डोंगफेंगको अत्याधुनिक क्वानटम आरटिटेक्चर प्ल्याटफर्ममा निर्मित भएको हो, जसले बलियो संरचना, स्मार्ट प्रविधि र उच्च प्रदर्शनको संयोजनमार्फत नेपालका मिड-साइज इलेक्ट्रिक एसयूभीहरूको नयाँ मापदण्ड स्थापित गरेको कम्पनीले जनाएको छ। यसको आकर्षक ‘म्याजिक क्युब डिजाइन’ ले आधुनिक सौन्दर्य र एरोडाइनामिक संरचनालाई मिलाएर नामी ब्रान्डको विशिष्ट डिजाइन पहिचानलाई अझ मजबुत बनाएको कम्पनीकाे दाबी छ ।

कम्पनीका अनुसार यो एसयूभीमा ९९ किलोवाट क्षमताको मोटर प्रयोग गरिएको छ, जसले शहरदेखि राजमार्गसम्म उत्कृष्ट एक्सेलेरेशन र स्मूथ ड्राइभ अनुभव प्रदान गर्छ। यसमा ४४.९४ किलोवाट–घण्टा क्षमताको ब्याट्री (WLTP रेन्ज ३०० किलोमिटर) र ५१.८७ किलोवाट–घण्टा क्षमताको ब्याट्री (WLTP रेन्ज ३५० किलोमिटर) गरी दुई विकल्प उपलब्ध छन्। ३सी अल्ट्रा–फास्ट डीसी चार्जिङ प्रविधि (१६७ किलोवाट) प्रयोग भएको यस एसयूभीले ३० प्रतिशतदेखि ८० प्रतिशत ब्याट्री चार्ज गर्न मात्र १८ मिनेट लिन्छ, जसले केही मिनेटमै करिब ११५ किलोमिटरको यात्रा दूरी थपिदिन्छ।

सुरक्षा र प्रविधिका दृष्टिले पनि नामी भिगो आफ्नो श्रेणीमा अग्रणी छ। यसमा लेबल २एडीएस प्रणाली, ३६० डिग्री क्यामेरा, एडेप्टिभ क्रूज कन्ट्रोल, वायरलेस चार्जिङ र मल्टी–मोड स्टेरिङ उपलब्ध छन्। भित्री भागमा १२.८ इन्च टचस्क्रिन, भेन्टिलेटेड जिरो–प्रेसर सिट, र पानोरेमिक मोनोरुफ जस्ता सुविधाहरूले लक्जरीको अनुभव दिलाउँछन्। सुरक्षा पक्षमा जिरो फायर/एक्स्प्लोजन टेस्ट गरिएको ब्याट्री प्रणाली, ६८.४ प्रतिशत हाइ–स्ट्रेन्थ स्टिल बडी र ६ ओटा एयरब्यागको संयोजन गरिएको छ।

नामी भिगो इ२ मोडेलको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ र इ२ प्लस मोडेलको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। विशेष प्रारम्भिक अफरअन्तर्गत यी मोडेलहरू क्रमशः ३७ लाख ९९ हजार र ४० लाख ९९ हजार रुपैयाँमै उपलब्ध हुने कम्पनीले जनाएको छ।

एमएडब्लू वृ‌द्धि मोटर्सका सीईओ प्रशन्न पन्तका अनुसार नामी ०१ का एक हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरूको सफलतापछि भिगोले हाम्रो दृष्टिकोणलाई नयाँ उचाइमा पुर्याएको छ। उनले भने, “यो पावर, लक्जरी र बुद्धिमत्ताको संयोजन भएको मोडल हो, जसले आधुनिक नेपाली जीवनशैलीलाई परिभाषित गर्छ।”