नेपालका सात प्रविधि संस्था ‘असोसियो अवार्ड २०२५’ बाट सम्मानित


काठमाडौँ । नेपालका सात प्रविधि संस्था प्रतिष्ठित ‘असोसियो अवार्ड २०२५’ बाट सम्मानित भएका छन् ।

एसियाली–ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गानाइजेसन (असोसियो) को यस वर्षको मुख्य कार्यक्रम ‘असोसियो डिजिटल समिट २०२५’ (नोभेम्बर १०-१२) अवसर पारी नेपालका यी संस्थालाई अवार्ड प्रदान गरिएको हो ।

यसअन्तर्गत इमार्क प्रा. लि. ले आउटस्ट्यान्डिङ टेक कम्पनी अवार्ड जितेको छ । त्यस्तै आउटस्ट्यान्डिङ डिजिटल ट्रान्सफर्मेसन अर्गनाइजेसन अवार्ड मदन भण्डारी मेमोरियल कलेजले पाएको छ । डिजिटल गभरमेन्ट अवार्ड निन्जा इनफोसिस प्रा. लि. ले जित्न सफल भएको छ ।

त्यस्तै ट्यालेन्ट डेभलपमेन्ट अवार्ड वर्डप्रेस नेपाल कम्युनिटीले प्राप्त गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आईस्पान) ले साइबर सेक्युरिटी अवार्ड जितेको छ भने एडुटेक इन्टरनेसनल प्रा. लि.ले स्टार्टअप अवार्ड हात पारेको छ । त्यस्तै अनलिमिटेड टेक्नोलोजी प्रा. लि.ले ग्लोबल बिजनेस सर्भिस अवार्ड हात पार्न सफल भएको छ ।

नेपालतर्फबाट असोसियो सदस्य संस्था कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का सिफारिसमा सहभागी यी संस्थाले ताइवानको ताइपेईमा आयोजित समिटमा यी विधामा अवार्ड हात पारेका हुन् ।

क्यान महासंघका अनुसार यस वर्षको असोसियो अवार्डमा नेपाली सूचना प्रविधि क्षेत्रको विविधता झल्काउने गरी नोमिनेसन सिफारिस गरिएको थियो । महासंघले असोसियो जस्तो अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुन पाउनु नेपालका लागि गौरवको विषय भएको क्यान महासंघका पूर्व अध्यक्ष एवम् असोसियोका उपाध्यक्ष नवराज कुँवरले बताए ।

असोसियो अवार्डले नेपाललाई क्षेत्रीय डिजिटल हबको रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै महासंघले यस्तो सम्मानले देशको प्रविधि कम्पनीहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अघि बढ्न प्रेरणा दिने विश्वास लिएको छ ।

‘एआइ सेपिङ द डिजिटल एसिया’ विषयमा केन्द्रित यस वर्षको समिट असोसियोको फ्ल्यागसिप इभेन्टका रूपमा आयोजना गरिएको हो । समिटमा एआई प्रविधिको भूमिका, साइबर सुरक्षा, डिजिटल गभरमेन्टका रणनीति, स्टार्टअप इकोसिस्टम र ट्यालेन्ट विकास, एआई जस्ता विषयमा विस्तृत छलफल भएको थियो ।

२४ एसियाली-ओसियनियन देशका प्रतिनिधिहरू सहभागी समिटमा विभिन्न प्यानल डिस्कसन, वर्कशप र प्रदर्शनीमार्फत नवीनतम प्रविधि र इनोभेसन प्रस्तुत गरिएका थिए ।