राजश्व अनुसन्धान विभाग आवश्यक छैनः अर्थमन्त्री खनाल


काठमाडाैँ । अर्थमन्त्री रामेश्वर खनालले राजश्व अनुसन्धान विभाग आवश्यक नरहेको बताएका छन् । 

नेपाल चेम्बर अफ कमर्सले आइतवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

मन्त्री खनालले अमेरिकालगायतका मुलुकहरूको दृष्टान्त दिँदै राजश्व सम्बन्धि केही समस्या भए त्यसलाई समाधान गर्न सोही सम्बन्धि विभागले नै काम गर्ने व्यवस्था गर्न उपयुक्त हुने स्पष्ट पारे।

उनले वर्तमान सरकारसँग काम गर्ने समय करिव साढे ३ महिना मात्रै भएको उल्लेख गर्दै त्यस बिचमा आफूले अर्थतन्त्र सुधारका लागि आवश्यक प्रणालीको विकासमा आफू केन्द्रित हुने समेत बताए।

“मेरो कार्यकाल अव साढे ३ महिना मात्रै बाँकि छ । फागुन २१ गते निर्वाचन भईसकेपछि त म मन्त्री पदमा रहन्न । त्यो भन्दा एक महिना अघिनै निर्वाचन आचार संहिता लागू होला । त्यो बेला पनि आर्थिक सुधारका कामहरु गर्न पाइन्न । त्यो बेलासम्म सुधारका कामहरु गर्नेछु । त्यसैगरी राजश्व अनुसन्धान विभाग अथवा त्यस्तो किसिमको निकाय चाहिँदैन । किनभने जब हामी विश्वास निर्माणमा आधारित प्रणाली निर्माण गर्छौं भने त्यस्तो अरु निकाय आवश्यक हुँदैन,” उनले भने ।

अर्थमन्त्री खनालले आपसी विश्वासमा आधारित प्रणालीको विकास गरेर मात्रै मुलुकको अर्थतन्त्रलाई सवल बनाउन सकिने बताए ।