कास्की कारागारबाट फरार कैदी स्याङ्जाबाट पक्राउ


काठमाडाैँ । कास्की कारागारबाट फरार भएका एक कैदी स्याङ्जामा पक्राउ परेका छन्।

जेनजी आन्दोलनको भीडभाड र अस्थिरताकाबिचभदौ २४ गते कास्की कारागार कार्यालय, पोखराबाट भाग्न सफल भएका कैदी सुनिल थापा विशेष सूचनाको आधारमा पक्राउ परेका हुन्। कारागार प्रशासन र सुरक्षामा व्यापक चासो बढाएको उक्त घटनापछि प्रहरीले निरन्तर निगरानी र खोजतलास जारी राख्दै आएको थियो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी फेदिखोलाबाट खटिएको विशेष अपरेसन टोलीले आज फेदिखोला गाउँपालिका–१ क्षेत्रमा उनलाई पक्रने क्रममा सफल भएको प्रहरी अधिकारीहरूले जनाएका छन्।

पक्राउ परेका ३१ वर्षीय सुनिल थापा मूलतः कास्की जिल्ला, पोखरा महानगरपालिका–१८ निवासी भए पनि हाल स्याङ्जा, फेदिखोला गाउँपालिका–१ मा बस्दै आएका थिए।

उनी चेक अनादर सम्बन्धी मुद्दामा दोषी ठहर भई सजाय काटिरहेका थिए।

पक्राउ पश्चात् उनलाई आवश्यक कानूनी प्रक्रियाका लागि स्याङ्जा जिल्ला कारागारमा पठाइएको प्रहरीले जनाएको छ। फरार कैदी पक्राउ परेसँगै सुरक्षातन्त्रले कारागार व्यवस्थापनमा थप सजगता अपनाइने जनाएको छ।