एनपिएलका लागि तोकियो पार्किङ स्थान


काठमाडाैँ । भाेलिदेखि सुरू हुन लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) २०८२ हेर्न आउने दर्शक तथा गाडीधनीहरूलाई लक्षित गर्दै ट्राफिक प्रहरीले विशेष ट्राफिक व्यवस्थापन योजना सार्वजनिक गरेको छ।

एनपिएल अवधिभर दर्शकको भीड तथा सवारी आवागमन बढ्ने अनुमान गर्दै ट्राफिक प्रहरीले मैदान आसपासका विभिन्न स्थानहरूमा पार्किङ व्यवस्था मिलाएको छ। योजनाअनुसार भिआइपी/भिभिआइपी अतिथिहरूका सवारी साधनलाई टि.यु. क्रिकेट मैदानको मेन गेटभित्रै पार्किङ गरिनेछ।

दर्शकका लागि भने तीनकुने नजिकको खुला मैदान, घडी आइल्याण्ड नजिकको ग्राउण्ड, आयुर्वेदिक अस्पताल परिसर, टि.यु. गेटदेखि उपकुलपति कार्यालयसम्मको सडक किनार, तथा सुन्दरीघाट-सानेपा खोला करिडोर क्षेत्रमा पार्किङ स्थल निर्धारण गरिएको छ।

ट्राफिक प्रहरीले आवागमन सहज बनाउन तथा भीड व्यवस्थापन प्रभावकारी बनाउन दर्शकले जथाभावी पार्किङ नगरी तोकिएको स्थानमै मात्र गाडी पार्क गर्न आग्रह गरेको छ।