काठमाडाैँ । बाँके जिल्ला अदालतमा कार्यरत नायब सुब्बा राम प्रसाद धमलामाथि घुस/रिसवत लिएको आरोपमा आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जले प्राप्त उजुरी र सूचना अनुसार सोमबार धमलालाई सेवाग्राहीसँग रू.१२ हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा उनले बाँके जिल्लाको मुद्दा मिसिल अभिलेख रहेको फाँट ‘क’ बाट फैसलाको प्रतिलिपि उपलब्ध गराइदिने बहाना बनाएर सेवाग्राहीसँग उक्त रकम लिएको तथ्य पत्ता लागेको आयोगले जनाएको छ।
अख्तियार प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार धमलाको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूर हो। सोही अनुसार उहाँमाथि बिगो रु. १२ हजार कायम गरी जरिवाना र कैद सजायको मागदाबी दायर गरिएको छ।


प्रतिक्रिया दिनुहोस्