राष्ट्र बैंकमा ५१.५१ अर्ब रूपैयाँ नयाँ नोट मौज्दात, २५० रूपैयाँका ३.४९ लाख थान नोट अझै बजारमा


काठमाडौँ । नेपाल राष्ट्र बैंकमा विभिन्न दरहका ५१ अर्ब ५१ करोड रूपैयाँभन्दा बढि नयाँ नोट स्टक मौज्दात रहेको छ ।

राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा विभिन्न दरका ५१ अर्ब ५१ करोड ८२ लाख ४९ हजार रूपैयाँ बराबरको नयाँ नोट स्टक मौज्दात छ

अघिल्लो वर्ष यस्तो मौज्दात एक खर्ब ४५ अर्ब ७ करोड ४ लाख ९९ हजार रूपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै २०८० असारसम्म यस्तो मौज्दात २ खर्ब १६ अर्ब ५४ करोड ९२ लाख ४९ हजार रूपैयाँ रहेको थियो ।

राष्ट्र बैंकमा एक रूपैयाँ दरको ५० हजार, २ रूपैयाँ दरको ६३ लाख रूपैयाँ, ५ रूपैयाँ दरको ६५ करोड रूपैयाँ, १० रूपैयाँ दरको एक अर्ब ४४ करोड ४८ लाख ९९ हजार ४० रूपैयाँ रहेको छ ।

यस्तै, २० रूपैयाँ दरको ५ अर्ब ६४ करोड ७० लाख रूपैयाँ, ५० रूपैयाँ दरको २८ करोड ५० लाख रूपैयाँ, १०० रूपैयाँ दरको ४ अर्ब ७८ करोड ५० लाख रूपैयाँ स्टक मौज्दात रहेको छ ।

यस्तै, ५०० रूपैयाँ दरको २२ अर्ब ७० करोड रूपैयाँ र १००० दरको १६ अर्ब रूपैयाँ स्टक मौज्दात रहेको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा राष्ट्र बैंकले विभिन्न दरका नोट छपाइ गरेको छ ।

जसमा ५ रूपैयाँ दरको ३५ करोड थान बैंकनोट करार सम्झौता बमोजिम पहिलो लट अन्तर्गतको १३ करोड थान बैंकनोट आपूर्ति भएको छ भने १० रूपैयाँ दरको ३४ करोड थान बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता बमोजिम पहिलो लट अन्तर्गतको ९ करोड थान बैंकनोट आपूर्ति भएको छ ।

यस्तै, २० रूपैयाँ दरको ३१ करोड थान बैंक नोट आपूर्ति भएको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा विभिन्न दरका ३ हजार ८५० बाकस नयाँ नोटहरू अर्थात ९८ अर्ब ७५ करोड ८२ लाख ५० हजार रूपैयाँ बराबरको नोटहरू निष्कासन गरेको राष्ट्र बैंकले जनाएको छ ।

२०८२ असार मसान्तसम्ममा ७ खर्ब ६१ अर्ब ४१ करोड रूपैयाँ बराबरका नोट चलनचल्तीमा रहेका छन् ।

२०८१ असार मसान्तसम्ममा ६ खर्ब ९० अर्ब १५ करोड रूपैयाँ बराबरका नोटहरू चलनचल्तीमा रहेको थियो । यो अवधिमा चलनचल्तीको १०.३३ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार २५० रूपैयाँ दरको ३ लाख ४९ हजार ६८५ थान नोट चलनचल्तीमा रहेको छ ।

राष्ट्र बैंकले २०८२ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरू एवम् सर्वसाधारणले यस बैंकमा जम्मा गर्न/सट्टाभर्ना लिन ल्याएका झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य विभिन्न दरका ७ खर्ब ४५ अर्ब ६९ करोड रूपैयाँ बराबरका नोट धुल्याएको छ ।