देशभर स्थिर मौसम, कोशी–मधेश–बागमतीमा आंशिक बदली रहने अनुमान


काठमाडाैँ । आगामी २४ घण्टाको मौसम पूर्वानुमान अनुसार देशभर सामान्य मौसम स्थिति रहने देखिएको छ। माैसम विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ।

आज राति भने कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ। ती प्रदेशबाहेकका अन्य भू–भागमा रातिको मौसम पनि मुख्यतया सफै रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महाशाखाले स्पष्ट पारेको छ। त्यसैले आगामी २४ घण्टामा सामान्यतया स्थिर र शान्त मौसम रहने आकलन गरिएको छ।