‘लुटिएका हतियार र फरार कैदीहरू फिर्ता नल्याउँदासम्म शान्तीपूर्ण ढंगले निर्वाचन हुन सक्दैन’


काठमाडाैँ । राष्ट्रिय सभाका सांसदहरूले अगामी २१ फागुनमा घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले उचित वातावरण बनाउन नसकेको टिप्पणी गरेका छन् । 

बिहीवार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनीहरूको यस्तो टिप्पणी गरेका हुन् । जेनजी आन्दोलनको क्रममा जेलबाट भागेका कैदीबन्दी तथा लुटिएका हातहतियार समाजमै रहेको उल्लेख गर्दै उनीहरुले यस्तो अवस्थामा शान्तीपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न नसकिने धारणा राखे ।

बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद युवराज शर्माले मुलुक हिंसात्मक बन्दै गएको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालको ध्यानाकर्षण गराए ।

उनले पछिल्ला दिनमा महिला हिंसा, बलात्कार र हत्या जस्ता घटनामा वृद्धि भएको उल्लेख गर्दै यस विषयमा सरकार गम्भीर बन्न जरुरी रहेको बताए ।

उनले जेन–जीको नाममा केही समूहहरूले राजनीतिक दलहरूलाई शान्तीपूर्ण ढंगले  कार्यक्रम समेत गर्न नदिएके भन्दै यस्तो अवस्थामा कसरी निर्वाचन हुन्छ ? भन्ने प्रश्न गरे । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई कुलमान घिसिङलाई मन्त्रीबाट हटाउन समेत आग्रह गरे। राजनीतिक दल खोलेर निर्वाचन लड्नको लागि स्रोतको छानविन गर्नुपर्ने भन्दै मन्त्री नियुक्तिको विषयमा पुनर्विचार गर्न उनको आग्रह छ ।

नेकपा (एमाले)की सांसद रुक्मिणी कोइरालाले कैदीबन्दी फरार तथा हातहतियार समेत समाजमै रहेको अवस्थामा शान्तीपूर्ण ढंगले निर्वाचन हुन नसक्ने बताइन् ।सरकारले अझै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न वातावरण निर्माण गरिनसकेको उनको भनाइ छ । उनले हातहतियार र हअपराधी समेत समाजमै रहेको अवस्थामा शान्तीपूर्ण निर्वाचन सम्भव छ ? उनको प्रश्न छ । –न्युज एजेन्सी नेपाल