चुच्चे नक्सासहितको नोट सार्वजनिक भएपछि भारतीय मिडियामा तरंग, नक्सा परिवर्तन गरेर भू–सत्य नबदलिने तर्क


काठमाडौं । भारत–नेपालबीच लामो समयदेखि चल्दै आएको सीमा विवाद पुनः चर्किएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको नयाँ १०० रुपैयाँको नोटमा लिपुलेख, कालापानी र लिम्पियाधुरा समेटिएको नक्सा छापिएपछि भारतीय मिडियाले यसप्रति कडा प्रतिकृया जनाएका छन्। भारतले यी तीनवटै क्षेत्रलाई आफ्नो भूभाग रहेको दाबी गर्दै नेपालको कदमलाई ‘एकतर्फी र ऐतिहासिक तथ्यविपरीत’ भएको टिप्पणी गरेको छ।

भारतीय मिडियाका अनुसार भारतीय विदेश मन्त्रालयले समेत प्रतिक्रिया जारी गरेको छ । मिडियाकाअनुसार मन्त्रालयबाट जारी प्रतिक्रियामा भनिएको छ कि नक्सा परिवर्तन गरेर भू–सत्य बदलिँदैन। मन्त्रालयले नेपालले भारतको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्नुपर्नेमा जोड दिँदै यस्तो प्रकारका दाबीहरू दुई देशबीच भएका समझौताविरुद्ध रहेको आरोप लगाएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १०० रुपैयाँको नयाँ नोटमा पूर्व गभर्नर महासम्प्रसाद अधिकारीको हस्ताक्षर छ। नोटमा उल्लेख गरिएको २०८१ साल बीएस जारी मितिले सन् २०२४ लाई जनाउँछ। बैंकका अनुसार यसअघि पनि १०० रुपैयाँको नोटमा नेपाल नक्सा अंकित थियो, तर सरकारी निर्णयअनुसार अहिले त्यसलाई संशोधन गरी अद्यावधिक गरिएको हो। अन्य मूल्यवर्ग—१०, ५०, ५०० र १००० रुपैयाँका नोटमा भने यो संशोधित नक्सा राखिएको छैन।

नोटको बायाँ भागमा सगरमाथा, दायाँ भागमा राष्ट्रिय फूल गुराँसको वाटरमार्क छ। नक्साको छेउमा बुद्ध जन्मस्थल लुम्बिनीको अशोक स्तम्भ अंकित छ, भने पछाडिको भागमा एकसिंगा गैँडाको तस्बिर राखिएको छ।

नेपालले विवादित भूभाग समेटिएको नयाँ नक्सा पहिलोपटक २०२० मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सार्वजनिक गरेको थियो। त्यसबेला पनि भारतले यसलाई अस्वीकार्य भन्दै कडा आपत्ति जनाएको थियो। भारतले दाबी गर्दै आएको छ कि लिपुलेख, कालापानी र लिम्पियाधुरा उसको नै भूभाग हुन् र नेपालले नक्सा विस्तार गरेर दाबी गर्ने कार्य मान्य नहुनेछ।

भारत र नेपालबीचको १८५० किलोमिटर लामो खुला सीमा पाँच वटा भारतीय राज्य—सिक्किम, पश्चिम बंगाल, बिहार, उत्तर प्रदेश र उत्तराखण्ड हुँदै गुज्रिएको छ।

विवादित क्षेत्र महाकाली ९काली नदीको उद्गमबिन्दुलाई लिएर दुई देशबीच व्याख्या–विवाद कायम छ। १८१६ को सुगौली सन्धिमा काली नदीलाई दुवै देशबीचको सीमा माने पनि नदीको वास्तविक उद्गम कुन धार हो भन्ने विषयमा दुई देशको मत फरक रहँदै आएको छ। यही आधारमा कालापानी, लिपुलेख र लिम्पियाधुरा क्षेत्रमा दुवैको दाबी जुधिरहेको छ।