वैकल्पिक शक्तिहरूलाई कुलमानको आह्वानः परिवर्तनलाई परिणाममा बदल्न एकै ठाउँमा उभिऔँ


काठमाडाैँ । उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री कुलमान घिसिङले भ्रष्टाचार नियन्त्रण गरी सुशासन स्थापना गर्न सके मात्र देश समृद्धितर्फ अघि बढ्न सक्ने धारणा व्यक्त गरेका छन्।

बुधवार आयोजित उज्यालो नेपाल पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै उनले मुलुकको समृद्धिको मूल आधार नै सुशासन र भ्रष्टाचारमुक्त व्यवस्था रहेको बताएका हुन् । आगामी २१ फागुनपछि निर्माण हुने नयाँ सरकारप्रति नागरिकमा चासो बढिरहेको उल्लेख गर्दै उनले यसै परिवेशबीच वैकल्पिक शक्तिका रुपमा उज्यालो नेपाल पार्टीको उदय भएको बताए।

मन्त्री घिसिङले परिवर्तनको नेतृत्व नयाँ पुस्ताका सक्षम, इमान्दार व्यक्ति, संस्था र संगठित जनसमुदायले गर्नुपर्नेमा जोड दिए। आम नागरिकको इच्छा र आकांक्षाका आधारमा वैकल्पिक शक्तिहरू एकताबद्ध भएर अघि बढे मात्र परिणाममुखी परिवर्तन सम्भव हुने उनले स्पष्ट पारे।

उनका अनुसार बिग्रिएका अवस्थालाई लिएर गाली गर्ने तर परिवर्तनमा भूमिकाको आवश्यकता परेपछि पछि हट्ने प्रवृत्तिले देश विकास हुन नसकेको छ।

घिसिङले भने, “२१ फागुनपछि कस्तो सरकार आउँछ भन्ने चासो सबैमा छ। यही आवश्यकताका कारण उज्यालो नेपाल पार्टी जन्मिएको हो। नयाँ विकल्प दिनसक्ने नेतृत्व, संस्था र पार्टीहरू अगाडि आउनुपर्छ। वैकल्पिक शक्तिहरू एकजुट भएर परिणाम दिने परिवर्तनको नेतृत्व लिनुपर्छ।”

उनले विदेश तथा भित्र रहेका सबै नेपालीलाई परिवर्तनको यात्रामा सहभागी हुन आग्रह गर्दै मुलुक समृद्ध बनाउन प्रमुख शर्त नै भ्रष्टाचारमुक्त शासन व्यवस्था रहेको दोहोराए।

“जेनजीले उठाएका माग समाधान गर्न सबैभन्दा पहिले देशलाई भ्रष्टाचारमुक्त बनाउनु जरुरी छ। सही, सक्षम र इमान्दार व्यक्तिहरू राजनीतिमा आउनुपर्ने बेला यही हो,” मन्त्री घिसिङले भने। कार्यक्रममा मन्त्री घिसिङ प्रमुख अतिथि भएर उपस्थित भएका थिए।