काठमाडाैँ । पराल ढुवानीमा निरन्तर अवरोध भएपछि च्याउ उत्पादक तथा पशुपालक किसान समस्याबाट जुध्न बाध्य बनेका छन्। च्याउ उत्पादक किसान संघ नेपाल, सुदूरपश्चिम प्रदेशले विज्ञप्तीमार्फत स्थानीय उत्पादन वृद्धि र रोजगारी सिर्जनामा लागिरहेको कृषक वर्गमाथि राज्यका जिम्मेवार निकायकै दमन बढ्दै गएको आरोप लगाइएको छ।
संघका अनुसार च्याउ तथा पशुपालनका लागि आवश्यक मुख्य कच्चा पदार्थ परालको ढुवानी नेपालका विभिन्न स्थानबाट मधेश प्रदेश ल्याउने क्रममा किसानले वर्षौंदेखि समस्या भोग्दै आएका छन्।
१० टनभन्दा बढी क्षमता भएका मालवाहक सवारीमा करिब ४ टन मात्र पराल राखेर ल्याउँदा पनि ट्राफिक प्रहरीसहित सुरक्षाकर्मीले अनावश्यक रोकतोक, सोधपुछ र विभिन्न बहानामा अवरोध गर्ने घटना दोहोरिइरहेको संघको भनाइ छ। यस्तो अव्यवस्थाका कारण परालको मूल्य अत्यधिक बढेको, उत्पादन लागत चुलिएको र किसान च्याउखेती तथा पशुपालनमा कठिनाइमा परेका छन्।
संघले पथलैयामा शान्तिपूर्ण धर्ना कार्यक्रम चलिरहेका बेला किसानमाथि प्रहरीद्वारा गरिएको दमन र धरपकडको निन्दा गरेको छ। “स्थानीय कच्चा पदार्थको उपयोग गरी उत्पादन बढाउने अभियानलाई दमन गरेर निरुत्साहित गर्ने प्रवृत्ति अस्वीकार्य छ,” विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।
किसानले च्याउ तथा दुधको उत्पादन लागत बढेपछि उपभोक्तालाई आवश्यक मात्रामा उत्पादन उपलब्ध गराउन समेत कठिनाइ भएको बताउँछन्। यस्तो अवस्थाले कृषकको जीविकासँगै समग्र कृषि व्यवसाय नै प्रभावित भएको संघको निष्कर्ष छ।
संघले देशभरका सरोकारवाला निकाय, कृषक तथा किसान संगठनहरुलाई अन्याय र दमनविरुद्ध देशव्यापी आन्दोलनमा उभिन आह्वान गरेको छ।



प्रतिक्रिया दिनुहोस्