विदेशी मह आयात र पराल ढुवानी अवरोधविरुद्ध महासंघकाे आपत्ति, देशव्यापी आन्दोलन गर्ने चेतावनी


काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले वर्तमान सरकारको कृषक विरोधी निर्णयप्रति आपत्ति जनाएको छ। महासंघले प्रेस विज्ञप्तिमार्फत विदेशी मह आयात गर्ने निर्णय र तराई–पहाडमा पराल ढुवानीमा अवरोध लगाएको विषयलाई तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।

“नेपालको दुईतिहाइ जनसंख्या कृषि पेशामा आश्रित छ र अर्थतन्त्रको लगभग एक तिहाइ हिस्सा कृषिले ओगटेको छ। यसकारण सरकारको सामान्य निर्णयले पनि किसान र समग्र अर्थतन्त्रमा गम्भीर प्रभाव पार्ने भएकाले वर्तमान सरकारले देश र किसानको हित विपरीत अनेक निर्णय गर्दै आएकोमा महासंघको ध्यानाकर्षण भएको छ,”विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महासंघले विदेशी मह आयात स्वीकृतिलाई नेपाली माहुरीपालक किसानविरुद्ध र बहुराष्ट्रिय कम्पनीहरूको हितमा आधारित ठहर गर्दै तत्काल रोक्नुपर्ने बताएको छ। विज्ञप्तिमा भनिएको छ, “विदेशी मह आयात गर्ने निर्णयले देशघाती र कुशासनको संकेत दिने भएकाले तुरुन्त फिर्ता लिनु आवश्यक छ। स्वदेशी मह उत्पादन प्रवर्द्धन गर्न तालिम, प्रशिक्षण र अनुदानको व्यवस्था अघि बढाउनुपर्छ।”

संगठनले तराईका किसानहरूले धानको भण्डार र पराल बिक्री गर्ने समयमा प्रहरीले घुस माग्दै ट्रक छोड्ने कार्य रोक्नु किसानविरोधी निर्णय भएको बताएका छन्। “यो कदम स्वदेशी धान, च्याउ, दुग्ध र अन्य पशुजन्य उत्पादनलाई कमजोर बनाउने तथा विदेशी सामग्रीको आयातलाई प्राथमिकता दिने षड्यन्त्र सावित हुन्छ,”विज्ञप्तिमा भनिएको छ । महासंघले पराल ढुवानी खुलाउन र जिम्मेवार प्रहरीहरूको कारबाही गर्न पनि माग गरेको छ।