भ्रष्टाचार प्रकरणले ‘अस्तव्यस्त’ नागरिक उड्यन प्राधिकरण,कनिष्ठलाई जिम्मेवारी दिँदा थप अफ्ठेरो


काठमाडौँ । भक्तपुरमा बनेको हेलिपोर्ट र पोखरा अन्तराष्ट्रिय विमानस्थल भ्रष्टार प्रकरणमा मुद्दा दायर भएपछि नागरिक उड्यन प्राधिकरण ‘अस्तव्यस्त’ भएको छ ।

प्राधिकरणका महानिर्देशक र दुई जना उपमहानिर्देशकसहित ५ जना उच्च अधिकारी निलम्बनमा परेका छन् ।

महानिर्देशक प्रदीप अधिकारीलाई हेलिपोर्ट निर्माणमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

पोखरा विमानस्थलको भ्रष्टचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेपछि आन्तरिक व्यवस्थापकीय हिसाबले प्राधिकरण अस्तव्यस्त बनेको छ ।

भक्तपुरकाे हेलिपोर्टमै मुद्दा दर्ता भएपछि महानिर्देशक प्रदीप अधिकारी निलम्बनमा परेका थिए । उनीमाथी पोखरा विमानस्थलको मुद्दा समेत दर्ता भएको छ ।

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दाम क्यानक १२ औँ तहका उपमहानिर्देशक प्रतापबाबु तिवारी र हंशराज पाण्डेयका साथै बाबुराम पौडेल र द्वारिकानाथ भट्टराईसमेत निलम्बनमा परेका छन् ।

क्यानमा रहेका शिर्ष अधिकारी निलम्बनमा परेका बेला विभागीय मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले कनिष्ठलाई महानिर्देशकको जिम्मेवारी दिएकी छन् ।

पर्यटन मन्त्रालयको नागरिक उड्यन महाशाखा सहसचिव मुकेश डंगोललाई महानिर्देशकको पनि जिम्मेवारी तोकिएको छ ।

प्राधिकरणकै एयर ट्राफिक सर्भिस(एटिस)बाट सेवा प्रवेश गरेका डंगोल अहिलेका १२ औँ तहका प्राधिकरणका उच्च अधिकारीभन्दा जुनियर अधिकृत हुन् । प्राधिकरण स्रोत भन्छ,“ उहाँ अहिले प्राधिकरणमा रहेका १२ औँ तहका अधिकृत भन्दा जुनियर हो । यसले काम गर्न अफ्ठेरो परिस्थिति सिर्जना हुने देखिएको छ । प्राधिकरणका वरिष्ठबाटै कार्यवाहक महानिर्देशक बनाउँदा सजिलो हुन्छ ।”

क्यानको कार्यवाहक महानिर्देशकको प्रतिस्प्रधामा १२ औँ तहका प्रतावबाबु तिवारी र जगननाथ निरौला अगाडि थिए तर अख्तियारले मुद्दा लैजाने तयारी गरेपछि पर्यटन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री कार्कीले पर्यटन मन्त्रालयका सहसचिवलाई महानिर्देशकको जिम्मेवारी दिएकी थिइन् । पर्यटन मन्त्रालय स्रोतले भन्यो,“ भ्रष्टचारको मुद्दा दर्ता हुने भनेपछि को को पर्छन् भन्ने टुङ्गो भएन त्यसैले सहसचिव ज्यूलाई जिम्मेवारी दिइएको हो ।”

अब कार्यवाहक महानिर्देशक क्यानभित्रैबाट बनाउँदा तिवारी निलम्बन भएपछि चर्चामा रहेका निरौला बाँकी छन् । भ्रष्टाचारको मुद्दा स्पष्ट भइसकेकाले सहसचिव डंगोलको सट्टा क्यानभित्रैबाट कार्यवाहक महानिर्देशक तोक्नुपर्ने माग कर्मचारीहरूको छ ।

एक कर्मचारीले भने,“सहसचिव डंगोल जुनियर भएकाले प्राधिकरणभित्र असहयोग र असहज हुन सक्छ । अर्को ‘स्वार्थको द्वन्द्व’ हुन सक्छ । प्राधिकरणभित्रकै कर्मचारी कार्यवाहक भए पुरै ध्यान लगाएर काम गर्न सक्छ ।”

नेपालको वायुसेवा इयुको कालो सूचीमा रहेका बेला प्राधिकरणको नेतृत्वमा समेत भद्रगोल भएको छ ।