काठमाडौँ उपत्यकाका चार खाद्य उद्योगमा स्वच्छता र भण्डारणमा कमजोरी, तत्काल सुधार गर्न विभागको निर्देशन


काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकामा सञ्चालनमा रहेका खाद्य व्यवसायहरूको निरीक्षण अनुगमन गर्दै विभिन्न स्थानहरूमा खाद्य स्वच्छता र गुणस्तर अभाव रहेको तथ्य सार्वजिनक गरेकाे छ ।

विभागका अनुसार गत मंसिर २१ र २२ गते गरिएको अनुगमनमा हट लाइभ बेकरी, क्वालिटी हस्पीटालिटी सर्भिस, जनक नाथ माध्यमिक विद्यालयको चमेना गृह र गाँउले कटेज जस्ता व्यवसायहरूमा सरसफाई, खाद्य पदार्थको भण्डारण, र उत्पादन प्रक्रिया अव्यवस्थित रहेको देखिएको छ।

हट लाइभ बेकरीमा उपभोग्य मिति गुज्रेका विभिन्न फ्लेवर र कलर इमल्सन फेला परेको र फ्रिज प्रयोग अव्यवस्थित रहेको पाइएपछि ती खाद्य वस्तुहरू जफत गरी नष्ट गरिएको छ।

साथै, बेकरी सर्टेनिङको प्रयोग गरेर तयार पारिएका ब्रेड र कुकिजको नमूना सङ्कलन गरिएको छ। बेकरीलाई प्रशोधन कक्ष र स्टोर व्यवस्थित गर्न, लेबल विवरण पुर्ण भएका मात्र खाद्य वस्तु बिक्री गर्न र सुधार १५ दिन भित्र पेश गर्न निर्देशन दिइएको छ।

अन्य तीन व्यवसाय-क्वालिटी हस्पीटालिटी सर्भिस, जनक नाथ चमेना गृह, र गाँउले कटेजमा पनि सरसफाई सन्तोषजनक नभएको, खाद्य पदार्थ अव्यवस्थित भण्डारणमा राखिएको, फोहोर फाल्ने डस्टविन नछोपी राखिएको, तथा कामदार कर्मचारीको व्यक्तिगत सरसफाई सन्तोषजनक नभएको पाइएकाे विभागले जनाएकाे छ । त्यहाँ उपभोग्य मिति गुज्रेका ब्रेड पनि भेटिएपछि नष्ट गरिएको छ।

विभागले यी व्यवसायहरूलाई खाद्य स्वच्छता कायम गरी सञ्चालन गर्न, सम्पूर्ण अभाव सुधार गर्न र तयारी खाद्य पदार्थमा प्रत्यक्ष सम्पर्क गर्दा मास्क वा उचित सुरक्षा सामग्री प्रयोग गर्न कडा निर्देशन दिएको छ।