जेनजी आन्दोलनको ५ अर्बभन्दा बढी बिमा दाबी भुक्तानी, दाबी रकम २३ अर्ब नाघ्यो


काठमाडाैँ । गत भदाै २३ र २४ गते भएकाे जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र अन्य घटनाबाट उत्पन्न क्षतिका कारण निर्जीवन बिमा कम्पनीहरूमा परेको बिमा दाबीमध्ये हालसम्म करिब ५ अर्ब १८ करोड रुपैयाँ बराबरको भुक्तानी भइसकेको छ।

बिमा प्राधिकरणले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार कुल ३ हजार ३०३ ओटा बिमा दाबीबाट करिब २३ अर्ब ४५ करोड रुपैयाँ बराबरको क्षतिपूर्ति माग गरिएको थियो।

प्राधिकरणमा १४ ओटा निर्जीवन बिमा कम्पनी र ४ ओटा लघु निर्जीवन बिमा कम्पनीहरूले पेश गरेको तथ्याङ्कका आधारमा अग्रिम भुक्तानी समेत गरी सो रकम बिमितहरूलाई उपलब्ध गराइएको हो।

सबैभन्दा बढी दाबी सम्पत्ति बिमातर्फ परेको देखिएको छ। यसअन्तर्गत ७१० ओटा दाबीबाट करिब १९ अर्ब २ करोड रुपैयाँ बराबरको दाबी परेकोमा हालसम्म करिब ३ अर्ब ८२ करोड रुपैयाँ भुक्तानी भइसकेको छ।

मोटर बिमातर्फ २ हजार ३११ ओटा दाबीबाट करिब ३ अर्ब ४७ करोड रुपैयाँ बराबरको दाबी परेको छ। यसमध्ये हालसम्म करिब १ अर्ब २२ करोड रुपैयाँ भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ।

इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बिमातर्फ २२५ वटा दाबीबाट करिब ५५ करोड ४७ लाख रुपैयाँ बराबरको दाबी परेकोमा करिब ७ करोड ५० लाख रुपैयाँ भुक्तानी भएको छ।

त्यस्तै, परिवहन बिमातर्फ १२ वटा दाबीको करिब १ करोड ६९ लाख रुपैयाँमध्ये करिब १ करोड ५५ लाख रुपैयाँ भुक्तानी गरिएको छ। अन्य बिमातर्फ ४५ वटा दाबीबाट करिब ३८ करोड ४० लाख रुपैयाँ बराबरको क्षति देखिए पनि अग्रिम भुक्तानीसमेत गरी करिब ५ करोड ५० लाख रुपैयाँ मात्र भुक्तानी भएको छ।

जेनजी आन्दोलनबाट भएको क्षतिको बिमा दाबी व्यवस्थापनमा नेपाल पुनर्बीमा कम्पनीको भूमिका पनि उल्लेखनीय देखिएको छ। नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बिमा कम्पनीहरूलाई अग्रिम भुक्तानीसमेत गरी हालसम्म करिब ३ अर्ब २ करोड रुपैयाँ बराबरको पुनर्बीमा दाबी भुक्तानी गरिसकेको जनाएको छ।

नेपाल पुनर्बीमा कम्पनीमा १४ ओटा निर्जीवन बीमा कम्पनीबाट २ हजार ८६२ ओटा पुनर्बीमा दाबी परेका छन्। ती दाबीहरूको कुल रकम करिब १६ अर्ब ६२ करोड रुपैयाँ पुगेको अद्यावधिक तथ्याङ्कमा उल्लेख गरिएको छ।