शुक्रबार हुँदैछ दशौँ ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५’ को ग्राण्ड फिनाले, १७ विधामा अवार्ड प्रदान गरिने


काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा परिचित दशौँ संस्करणको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५’ को ग्राण्ड फिनाले पुस ४ गते (शुक्रबार) आयोजना हुने भएको छ। पुलचोकस्थित द प्लाजामा आयोजना हुने यो कार्यक्रमलाई वर्षकै सबैभन्दा ठूलो प्रविधि उत्सवका रूपमा लिइएको छ।

‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एसोसिएसन विथ नेपालपे क्युआर, टिङटङ, पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी र केएमसी’ शीर्षकमा आयोजना हुने ग्राण्ड फिनालेमा विभिन्न १७ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।

सन् २०१६ देखि लिभिङ विथ आइसिटीले निरन्तर आयोजना गर्दै आएको आइसिटी अवार्ड कार्यक्रम यस वर्ष दशौँ संस्करणमा प्रवेश गरेको हो। विगत छ महिनादेखि छनोट प्रक्रिया, प्रि–इभेन्ट तथा विभिन्न गतिविधि सम्पन्न गर्दै कार्यक्रम ग्राण्ड फिनालेमा पुग्न लागेको हो।

सूचना तथा प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका उत्कृष्ट संस्था, उद्यम, नवप्रवर्तनकर्ता तथा व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यसहित नेपालभित्रका १६ विधा र एक अन्तर्राष्ट्रिय विधासहित कुल १७ विधामा अवार्ड प्रदान गरिनेछ।

यसै अवसरमा सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई ‘प्रोभिन्सियल स्टार्टअप आइसिटी रिकग्निसन २०२५’ बाट सम्मान गरिने छ। साथै सार्क राष्ट्रलाई लक्षित ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड’ मार्फत दक्षिण एसियाकै उत्कृष्ट स्टार्टअपलाई सम्मान गरिने आयोजकले जानकारी दिएको छ।

लिभिङ विथ आइसिटी र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा हुन लागेको ग्राण्ड फिनालेमा स्वदेश तथा विदेशबाट करिब एक हजारभन्दा बढी विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

दशौँ संस्करणको अवार्ड छनोटका लागि १४ जना स्वदेशी र चार जना विदेशी विज्ञ सम्मिलित जुरी समिति तथा १५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको थियो।

यस वर्ष विभिन्न १५ विधा र रिकग्निसनका लागि खुला गरिएको अनलाइन नोमिनेसनमा ७५० भन्दा बढी आवेदन परेको आयोजक समितिले जनाएको छ।

अवार्ड वितरण हुने विधामा क्याटोगोरी ‘ए’ अन्तर्गत स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन रहेका छन्। व्यक्तिगत अवार्डतर्फ प्रोफेसनल एक्सिलेन्स, आन्टरप्रेनर, नेपाली डायस्पोरा, पायोनियर तथा एनसेल वुमन आइकन आइसिटी अवार्ड समावेश छन्।

संस्थागत तथा कर्पोरेट अवार्डतर्फ डिजिटल एजुकेसन (पब्लिक सेक्टर), डिजिटल एजुकेसन (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स, डिजिटल सर्भिसेस आइसिटी अवार्ड (इन्टरप्राइज सेक्टर) र डिजिटल सर्भिसेस आइसिटी अवार्ड (नियो सेक्टर) रहेका छन्।

क्याटोगोरी ‘डी’ अन्तर्गत साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड प्रदान गरिनेछ। साथै क्याटोगोरी ‘ए’ का सेमिफाइनलिस्टमध्ये सबैभन्दा बढी पब्लिक भोट प्राप्त गर्ने स्टार्टअप, इन्नोभेसन वा प्रडक्टलाई ‘पब्लिक च्वाइस आइसिटी अवार्ड’ प्रदान गरिने व्यवस्था छ।

ग्राण्ड फिनालेअघि काठमाडौँमा दुई दिने स्टार्टअप एण्ड आइडिया फेस्ट, ग्राण्ड जुरी तथा स्पिड डेटिङ सेसन, तालिम तथा मेन्टरिङ सेसन, टेलिभिजन कार्यक्रम, पब्लिक भोटिङ र फिल्ड भिजिटजस्ता गतिविधि सञ्चालन गरिएको थियो।

अवार्ड छनोट प्रक्रिया पारदर्शी, निष्पक्ष र सर्वोत्कृष्ट बनाउन सम्पूर्ण तवरबाट प्रयास गरिएको अवार्ड संयोजक राजन लम्सालले बताए। उनका अनुसार आइसिटी अवार्ड केवल सम्मान कार्यक्रम मात्र नभई डिजिटल रूपान्तरण र प्रविधि इकोसिस्टमको महत्वपूर्ण आधार बनेको छ।

हरेक वर्ष आयोजना हुँदै आएको आइसिटी अवार्डले सूचना प्रविधि क्षेत्रमा कार्यरत तथा प्रवेश गर्न चाहनेहरूलाई प्रोत्साहन र प्रवर्द्धन गर्दै आएको छ। प्रतिस्पर्धामा सहभागी स्टार्टअप, प्रडक्ट र इन्नोभेसनका लागि थप लगानी र बजार विस्तारको अवसरसमेत प्रदान गर्ने आयोजकको भनाइ छ। अवार्ड विजेताले ट्रफी र सम्मान प्राप्त गर्नेछन्।

शुक्रबार आयोजना हुने ग्राण्ड फिनाले सफल बनाउन इन्ड्राइभ शीर्ष प्रयोजकको रूपमा रहेको छ भने नेपालपे क्युआर र एआई सञ्चार प्लेटफर्म टिङटङ एसोसिएसन पार्टनर रहेका छन्। नेपालको नम्बर एक ट्राभल एजेन्सी सस्तो टिकेट्स, मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी र काठमाडौँ मोडेल कलेज मुख्य सहकार्यमा छन्।

साथै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, नेपाल दूरसञ्चार प्राधिकरण, हाम्रो पे, नबिल बैंक, रिसेक्युरिटी, आदिम कलेज, फ्युजमसिन्स, नास आईटीलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्थाहरूको सहयोग र सहकार्य रहेको छ।

हिमालय टेलिभिजनलगायत विभिन्न माध्यमबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रममा कलाकारहरूको विशेष प्रस्तुति पनि रहनेछ। अवार्ड कार्यक्रममा सहभागिताका लागि विभिन्न देशबाट दर्जनभन्दा बढी स्टार्टअप तथा नेपाली डायस्पोरा नेपाल आउने आयोजकले जनाएको छ।

आइसिटी अवार्ड २०२५ मा सहभागी हुन इच्छुक व्यक्तिहरूले आधिकारिक वेबसाइट ictaward.org मार्फत टिकट खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। नेपालमा आयोजना हुने प्रविधि क्षेत्रकै सम्भवतः सबैभन्दा ठूलो र भव्य कार्यक्रम हुने आयोजकको दाबी छ।