कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौती हाेः उद्योगमन्त्री सिन्हा


काठमाडाैँ । अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक खर्चको प्राथमिकता, उपयोगिता र गुणस्तर कमजोर हुँदा नागरिक असन्तुष्टि बढ्दै गएको बताएका छन् ।

शुक्रवार नेपाल आर्थिक पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्षको बजेटमा विभिन्न शिर्षकमा अबण्डा बजेट राख्ने प्रवृत्तिले नागरिक असन्तुष्ट रहेको र अर्थतन्त्र पनि कमजोर बनाएको बताएका हुन् ।

सार्वजनिक खर्चको उपयोगिता, सेवा प्रवाह सुधार र आर्थिक सुशासन आजको सबैभन्दा महत्वपूर्ण विषय भएको उल्लेख गर्दै मन्त्री सिन्हाले यसले नागरिकको दैनिकी, राज्यप्रतिको विश्वास र लोकतन्त्रको प्रभावकारितासँग प्रत्यक्ष सम्बन्ध राख्ने बताए ।

राज्यले कर, शुल्क र अन्तर्राष्ट्रिय सहायताबाट सङ्कलन गरेको स्रोत शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक सुरक्षा र प्रशासनिक सेवामा लगानी गरे पनि त्यसको प्रतिफल नागरिकले अनुभुति गर्न नसकेको गुनासो रहेको स्वीकार गरे ।

मन्त्री सिन्हाले सार्वजनिक खर्चमा सदुपयोग र आर्थिक सुशासन कायम हुन नसक्दा उत्पन्न असन्तुष्टिकै प्रतिफलका रूपमा भदौ २३ गतेको जेन–जी आन्दोलन भएको आफूले महशुस गरेको बताए ।