नाडाको साधारण सभा तोकिएकै मितिमा हुने, स्थगनको हल्ला निराधार


काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी पुष ९ गते (भोलि) तय गरेको साधारण सभा विधान तथा कानुनी प्रावधानअनुसार तोकिएकै मितिमा सञ्चालन हुने स्पष्ट पारेको छ।

नाडाले एक विज्ञप्ति जारी गर्दै हाल केही सञ्चार माध्यममा प्रकाशित समाचारका कारण साधारण सभा स्थगित हुनसक्ने भन्ने आशंका र भ्रम फैलिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ। यस्ता समाचारहरू निराधार रहेको उल्लेख गर्दै साधारण सभा तोकिएकै मितिमा कुनै अवरोधबिनै आयोजना हुने नाडाको स्पष्ट भनाइ छ।

संस्थाले लोकतान्त्रिक अभ्यास, पारदर्शी नेतृत्व हस्तान्तरण र संस्थागत स्थायित्वप्रति आफू सधैँ प्रतिबद्ध रहेको जनाउँदै सबै सदस्यहरूलाई साधारण सभामा सक्रिय र जिम्मेवार सहभागिता जनाउन आग्रह गरेको छ।

साथै सञ्चार माध्यम र सरोकारवालाहरूलाई नाडाबाट जारी आधिकारिक सूचनालाई आधार मानेर मात्र समाचार प्रकाशन तथा व्याख्या गर्न अनुरोध गरिएको छ।

नाडाका अनुसार साधारण सभा संस्थाको विधानअनुसार नियमित प्रक्रिया अन्तर्गत आयोजना हुन लागेको हो र यसमा कुनै कानुनी वा प्रक्रियागत अवरोध नरहेको पुनः स्पष्ट गरिएको छ।