लायन्स डिस्ट्रिक्ट ३२५ आरको सेवा अभियानले तीन लाख लाभान्वित,अन्तर्राष्ट्रिय मञ्चमा जित्याे तीन अवार्ड


काठमाडाैँ । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आर, नेपालले चालु लायन वर्षमा सेवा र संगठन विस्तार दुवै क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै करोडौँ रुपैयाँ बराबरका सामाजिक परियोजना सञ्चालन गरेको छ।

स्वास्थ्य, राहत, वातावरण र मानव सेवामा केन्द्रित विभिन्न कार्यक्रममार्फत करिब तीन लाख नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

डिस्ट्रिक्टले आँखा अस्पताल निर्माण, बाल क्यान्सर आवास गृह स्थापना, अस्पताल स्तरोन्नति, डायलासिस मेसिन हस्तान्तरण, निःशुल्क उपचार सेवा, रक्तदान कार्यक्रम तथा दैविक प्रकोप र बाढीपीडितका लागि राहत वितरणजस्ता कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ।

आपतकालीन राहत कार्यक्रमअन्तर्गत काठमाडौँको बल्खु क्षेत्रका ४०० परिवारलाई करिब २६ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको थियो।

लायन्स अन्तर्राष्ट्रियकोम्याचिङ हंगर ग्रान्ट अन्तर्गत राप्ती–ब्रह्मनगरमा करिब २ करोड रुपैयाँ लागतमा स्मार्ट क्यान्टिन निर्माण कार्य अघि बढाइएको छ भने अन्य स्ट्यान्डर्ड ग्रान्ट र भिजन ग्रान्ट अन्तर्गतका परियोजनाहरू पनि विभिन्न चरणमा प्रक्रियामा रहेका छन्।

संगठन विस्तारतर्फ पनि डिस्ट्रिक्टले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। चालु अवधिमा ३१ नयाँ क्लब थपिएसँगै क्लब संख्या १९८ पुगेको छ भने १,१३३ नयाँ सदस्य जोडिँदा कुल सदस्य संख्या ४,६७५ पुगेको छ।

यसैबिच, डिस्ट्रिक्टको आफ्नै प्रशासनिक भवन निर्माणको शिलान्यास भई आगामी १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण प्रक्रिया अघि बढाइएको छ। अन्तर्राष्ट्रियस्तरमा पनि डिस्ट्रिक्टले गौरवपूर्ण सफलता हात पारेको छ। भारतको अहमदाबादमा सम्पन्न लायन्स अन्तर्राष्ट्रिय ISAME फोरममा मेम्बरसिप, एलसिआइएफ र ग्याट विधामा तीनवटै अवार्ड जित्दै डिस्ट्रिक्ट ३२५ आरले ऐतिहासिक उपलब्धि हासिल गरेको हो।

डिस्ट्रिक्ट गभर्नर लायन नवराज सापकोटाका अनुसार ‘टुगेदर वी मेक चेन्ज’ नारालाई आत्मसात् गर्दै आगामी दिनहरूमा पनि प्रभावकारी सेवा कार्यक्रममार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन डिस्ट्रिक्ट प्रतिबद्ध रहनेछ।