काठमाडाैँ । नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपालले आफ्नो ४९औं वार्षिक साधारण सभा (बन्द सत्र) सम्पन्न गरेको छ। यस सभामा संस्थाको आन्तरिक सुदृढीकरण, नीतिगत छलफल तथा भविष्यका रणनीतिक मार्गनिर्देशनमा केन्द्रित व्यापक बहस भएको थियो।
संस्थामा हाल नवीकरण भएका कुल १ हजार ५४८ सदस्यमध्ये १ हजार ४८३ जना सदस्यको प्रत्यक्ष उपस्थितिमा सम्पन्न यो सभा संस्थाप्रतिको बलियो विश्वास र एकतालाई पुष्टि गर्ने अवसर बनेकाे नाडाले जनाएकाे छ । नाडाका अनुसार कार्यक्रम जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार प्रचलित कानुनी व्यवस्थाको पालना गर्दै सम्पन्न गरिएको थियो।
सभाका मुख्य विषयवस्तुहरूमा संस्थाका एजेण्डा तथा औपचारिक कार्यसूचीको छलफल, आगामी दिनका लागि नीति, संरचना, पारदर्शिता र रणनीतिक मार्गनिर्देशन, अटोमोबाइल व्यवसायीबिच सहकार्य, व्यावसायिक हकहित र जिम्मेवार परिचालनका विषयमा रचनात्मक विचार–विमर्श रहेका छन्।
सभाको निर्णयअनुसार संस्थाको नयाँ कार्यसमिति चयनका लागि यही २०८२ साल पौष २५ गते निर्वाचन हुने निर्णय गरिएको छ। साथै, महासंघसँगको सम्बन्ध र आवश्यकता विषयमा छलफल गरी प्रचलित कानून अनुसार महासंघमा समावेश गर्ने प्रस्ताव पारित गरिएको छ।
नाडा अटोमोबाइल्स एशोसिएशनले आफ्ना सम्पूर्ण सदस्यहरूको अटुट विश्वास, साथ र समर्थनप्रति हार्दिक आभार व्यक्त गर्दै भविष्यमा पनि कानुनी मापदण्डको पालना, पूर्ण पारदर्शिता र संस्थागत जिम्मेवारीप्रति प्रतिबद्ध रहने प्रतिवद्धता दोहोर्याएको छ।



प्रतिक्रिया दिनुहोस्