नवनियुक्त मन्त्री शर्माले भने: नेपालको छवि राम्रो बनाउन काम गर्नेछु


काठमाडाैँ । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको अन्तर्राष्ट्रिय छवि सुधार्ने गरी आफू काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गरेलगत्तै मन्त्री शर्माले यो कुरा बताएका हुन्।

उनले मन्त्री परिषद्मा आउनुको उद्देश्य राम्रो काम गर्नु भएको हो भन्ने उल्लेख गर्दै, निर्वाचनको प्रसङ्गमा छिमेकी देशहरूसँग सहकार्य आवश्यक परे उचित ढंगले अघि बढाउने बताएका छन्।

साथै, मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई सकारात्मक दिशामा अगाडि बढाउने प्रतिबद्धता पनि जनाए ।

मन्त्री शर्माले भने, “नेपालको छवि संसारभर कसरी राम्रो गर्ने भन्ने विषयमा अघि बढ्नेछु। यो मुलुक हाम्रो हो। हामीले जति खालि राख्छौँ, त्यति समस्या हुन्छ। मैले आउँदा मुलुकको, मन्त्रालयको उद्धार हुने काम रोक्नु हुँदैन। हरेक राजदूतको विभिन्न मुलुकमा गरेका कामहरु हेरिएको होला, त्यसरी नै काम भएको विश्वास छ।”

मन्त्री बालानन्द शर्माले आजमात्रै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।