शीर्ष नेतासँगको भेटपछि मन्त्री खरेलले भनेः फागुन २१ मै निर्वाचन हुन्छ, सबै दल सहभागी हुन्छन्


काठमाडाैँ । निर्वाचनको वातावरण निर्माण गर्न सरकारले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफललाई तीव्र बनाएको छ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग भेट गरी तोकिएको मितिमै निर्वाचन हुने विषयमा छलफल गरेका हुन् ।

मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनीहरूकै निवासमा पुगेर निर्वाचनसम्बन्धी कुराकानी गरेका हुन् ।

तीन दलका शीर्ष नेताहरूसँगको भेटवार्तापछि सञ्चारमन्त्री खरेलले आगामी फागुन २१ गते तोकिएकै मितिमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने र त्यसमा सबै राजनीतिक दल सहभागी हुने स्पष्ट पारे । सरकारले निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्ने दृढ इच्छाशक्ति राखेकाले राजनीतिक दलहरूसँग निरन्तर संवाद र छलफल भइरहेको उनको भनाइ छ।

निर्वाचनको माहोल बनाउन सर्वदलीय, सर्वपक्षीय तथा व्यक्तिगत रूपमा समेत पहल भइरहेको उल्लेख गर्दै मन्त्री खरेलले सरकार स्वयं दलका कार्यालय र नेताका घरदैलोमा पुगेर निर्वाचन सुनिश्चितताका लागि सक्रिय रहेको जानकारी दिए ।

उनका अनुसार तीनै ठूला दलका शीर्ष नेताहरूले भेटका क्रममा निर्वाचन हुनैपर्ने विषयमा स्पष्ट धारणा राखेका छन् ।आज नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी निवासमा भएको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीले पनि राजनीतिक भेटवार्तालाई प्रत्यक्ष तथा परोक्ष रूपमा अघि बढाइरहेकाे जानकारी दिए । संयोजक दाहालले तोकिएको मितिमै निर्वाचन हुनुपर्नेमा जोड दिनुभएको उनले बताए ।

सरकारको प्रमुख प्राथमिकतामा सुशासन, भ्रष्टाचार नियन्त्रणसँगै निर्वाचन सम्पन्न गर्ने विषय रहेको उल्लेख गर्दै मन्त्री खरेलले सबै पक्ष, सबै दल तथा मुख्य राजनीतिक शक्तिसँग संवाद र भेटघाट सम्पन्न भएको जानकारी दिए। दलका कार्यालय र नेताका निवासमै पुगेर वार्ता गरिएको भन्दै उनले सरकार निर्धारित मितिमै चुनाव गराउन प्रतिबद्ध रहेको दोहोर्‍याए ।

आगामी दिनमा एकल, समूहगत, युवा, जेन–जी प्रतिनिधि तथा सुरक्षा निकायसँग पनि निरन्तर छलफल गरिने जानकारी दिँदै मन्त्री खरेलले निर्वाचन आयोग, सुरक्षा निकाय र अन्य सरोकारवाला निकाय निर्वाचनमा केन्द्रित भइसकेको अवस्थामा चुनाव सुनिश्चित भएको सन्देश जनतासम्म प्रवाह गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।

तीनै दलका शीर्ष नेताहरूले आफूहरू चुनाव विरोधी नभएको र निर्वाचन लोकतन्त्रको आधार भएको स्पष्ट धारणा राखेको उल्लेख गर्दै मन्त्री खरेलले ताजा जनादेशमार्फत जनताबाट अनुमोदन लिनु नै उचित मार्ग भएको निष्कर्षमा सबै नेता सहमत देखिएको बताए ।

यसैबिच निर्वाचनको अन्तिम तयारी र दलहरूबिच थप समन्वयका लागि प्रधानमन्त्री सुशीला कार्कीले शनिबार बालुवाटारमा शीर्ष नेताहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ।