रामकोटका तरकारी फार्ममा विभागकाे विषादी परीक्षण, रायोको सागमा भेटियाे ९९.५२९ प्रतिशत विषादी


काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नागार्जुन नगरपालिका वडा नम्बर ६ र ७ स्थित रामकोटका तरकारी फार्महरूमा उत्पादन भएका सागसब्जीमा जीवनाशक विषादीको अवशेष परीक्षण गरेको छ।

विभागले गत पुस ९ गते पाँच ओटा तरकारी फार्मबाट रायोको साग र टमाटरका कुल १४ नमुना सङ्कलन गरी मोबाइल खाद्य प्रयोगशाला भ्यानमार्फत परीक्षण गरेको जनाएको छ।

विभागका अनुसार अधिकांश नमुनामा विषादीको अवशेष मापदण्डभित्र नै पाइएको छ। नागार्जुन–६ रामकोटस्थित सम्पन्न कृषि फार्म तथा अन्य तीन ओटा कृषि फार्ममा उत्पादन भएका रायोको साग र टमाटरमा जीवनाशक विषादीको मात्रा तोकिएको मापदण्डभित्र रहेको पाइएको हो।

तर नागार्जुन–७ रामकोटस्थित ‘सक्रिय कृषि तथा पशुपन्छी फार्म’बाट संकलन गरिएको रायोको सागको नमुनामा भने अर्गानोफस्फेट वर्गको विषादी मापदण्डभन्दा बढी पाइएको विभागले जनाएको छ।

सो नमुनामा ९९.५२९ प्रतिशत ‘इनहिबिसन’ देखिएको उल्लेख गरिएको छ। यद्यपि, सोही फार्मबाट संकलित टमाटरको नमुनामा भने विषादीको मात्रा मापदण्डभित्रै रहेको विभागले स्पष्ट पारेको छ।

विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नियमित रूपमा बजार तथा उत्पादनस्थलमा अनुगमन र परीक्षणलाई निरन्तरता दिइने जनाएको छ। साथै, किसानहरूलाई विषादीको सुरक्षित र विवेकपूर्ण प्रयोग गर्न तथा मापदण्ड पालना गर्न समेत आग्रह गरिएको छ।