अनुदानको मल वितरण पारदर्शी बनाउन मन्त्रालयद्वारा सूचना प्रणाली लागू


काठमाडौँ । कृषकलाई अनुदानमा वितरण गरिने रासायनिक मलको खरिद तथा बिक्री–वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘अनुदानको मल वितरण सूचना प्रणाली’ प्रयोगमा ल्याएको छ।

मन्त्रालयका अनुसार यो प्रणालीमार्फत अब मलको आयात, स्टक तथा बिक्री–वितरणसम्बन्धी अद्यावधिक विवरण जुनसुकै समयमा हेर्न सकिने व्यवस्था गरिएको छ।

मन्त्रालयले अनुदानमा वितरण हुने मलको वितरणमा विक्रेताले पक्षपात गर्ने, तोकिएको भन्दा बढी मूल्य लिने, अनधिकृत व्यक्ति वा संस्थालाई मल बेच्ने जस्ता गुनासोहरूलाई सम्बोधन गर्ने उद्देश्यले उक्त प्रणाली लागू गरेको जनाएको छ।

यस प्रणालीमार्फत मल विक्रेता सहकारी वा फर्मले प्राप्त गरेको कोटा, मौज्दात स्टक तथा सबैभन्दा महत्वपूर्ण रूपमा कुन कृषकलाई कति परिमाणमा मल बिक्री गरिएको हो भन्ने विस्तृत विवरण सार्वजनिक रूपमा हेर्न सकिनेछ।

अनुदानको मल वितरण सूचना प्रणाली हेर्नका लागि http://fms.moald.gov.np वा मन्त्रालयको वेबसाइट www.moald.gov.np मा गई ‘हाम्रो सेवाहरू’ अन्तर्गत रहेको ‘अनुदानको मल वितरण सूचना प्रणाली’ विकल्पमा प्रवेश गरी आफ्नो स्थानीय तह छनोट गर्न सकिने मन्त्रालयले जनाएको छ। त्यसपछि अनुदानित मलको स्टक तथा बिक्री–वितरणसम्बन्धी विवरण अवलोकन गर्न सकिनेछ।

मन्त्रालयका अनुसार मल विक्रेता सहकारी तथा फर्मले मलको स्टक र बिक्री–वितरणको विवरण प्रणालीमा इन्ट्री गरेपछि मात्र उक्त विवरण प्रणालीमा देखिनेछ। त्यसैले सबै सम्बन्धित विक्रेतालाई नियमित रूपमा मलको स्टक तथा बिक्रीसम्बन्धी विवरण प्रणालीमा प्रविष्ट गर्न आग्रह गरिएको छ।

यसैगरी मन्त्रालयले कृषक वर्गलाई समेत यो सुविधाको प्रयोग गरी मल वितरण प्रक्रियालाई पारदर्शी बनाउने सरकारी प्रयासमा सहयोग गर्न अनुरोध गरेको छ।