भृकुटीमण्डपमा च्याउ मेलाको रौनक (फोटोफिचर)


काठमाडौँ । नेपालको च्याउ खेती प्रवर्द्धन गर्ने उद्देश्यका साथ च्याउ उत्पादक किसान संघ नेपाल, व्यवसायिक कीट विकास केन्द्र तथा बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजनामा आज (पौष १५)गते काठमाडौँको भृकुटीमण्डपमा एक दिने च्याउ मेला तथा परिकार महोत्सव भइरहेको छ।

सरकारले गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट हरेक वर्ष पौष १५ गतेलाई ‘च्याउ दिवस’का रूपमा मनाउने निर्णय गरेसँगै आज पहिलो पटक औपचारिक रूपमा च्याउ दिवस मनाइँदै छ।

‘च्याउ किसानहरूको जागरूकता, व्यवसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने नाराका साथ सञ्चालन भइरहेको मेलामा च्याउ खेती, उत्पादन, प्रविधि र बजारसँग सम्बन्धित ४० वटा स्टलहरू राखिएका छन्।

मेलामा च्याउसँग सम्बन्धित विभिन्न विषयगत प्रदर्शनीका साथै च्याउबाट तयार गरिएका परिकारहरूको प्रदर्शनी तथा स्वाद लिन पाउने व्यवस्था गरिएको छ, जसले च्याउको पोषणीय महत्त्व र व्यावसायिक सम्भावनालाई नजिकबाट चिनाउने काम गरिरहेको छ।

मेलामा गोभ्रे, कन्ये, किङ ओइस्टर र सिताके च्याउ उत्पादनका व्यवहारिक तथा प्रयोगात्मक प्रदर्शनहरू आकर्षणको केन्द्र बनेका छन्। विभिन्न स्टलहरूमा च्याउ उत्पादनका लागि आवश्यक बीउ, प्रविधि, उपकरण तथा सामग्रीहरूको समेत प्रदर्शनी भइरहेको छ, जसले नयाँ र पुराना किसानहरूलाई उपयोगी जानकारी प्रदान गरिरहेको छ।

च्याउ उत्पादक किसान संघ नेपालका अध्यक्ष सन्तोष कार्कीले संघ स्थापना भएदेखि नै च्याउलाई राष्ट्रिय दिवसका रूपमा मनाउनका लागि विभिन्न समयमा सरकारी निकायहरूसँग निरन्तर अनुरोध र दबाबमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए। सोही प्रयासको परिणामस्वरूप आज पहिलो च्याउ दिवस मनाउन पाइएको उनले बताए।

विहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भइरहेको मेला तथा प्रदर्शनीको उद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्री डा। मदन परियारले गरेका हुन्।