अन्तरिम सरकारले पुरानै राजनीतिक संस्कार पुनर्जीवित गर्‍यो, जेनजी माग बेवास्ता भयाेः सर्वेन्द्र खनाल


काठमाडाैँ । समुन्नत नेपाल पार्टीका अध्यक्ष सर्वेन्द्र खनालले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पुरानै राजनीतिक पार्टीहरूको गलत संस्कारलाई पुनर्जीवित गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।

सोमवार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष खनालले सरकार स्वयं र राजनीतिक दलहरूले जेनजी युवा पुस्तालाई विभाजित पार्ने काम गरिरहेको बताएका हुन्। उनले जेनजी विद्रोहले उठाएका मागहरूलाई संस्थागत गर्न सरकार र राजनीतिक शक्तिहरूले कुनै चासो नदेखाएको आरोप पनि लगाए ।

अध्यक्ष खनालले आगामी निर्वाचनमार्फत नयाँ भनिएका राजनीतिक समूहहरूलाई समेत समेटेर समुन्नत नेपालको यात्रा तय गर्ने प्रयास रहेको बताए ।

उनले मुलुकमा बाहिरबाट आयात गरिएका राजनीतिक वादहरू आवश्यक नभएको र पुँजीवाद, साम्यवाद वा संविधानमा उल्लेखित समाजवादउन्मुख अवधारणाको व्यावहारिक कार्यान्वयन नदेखिएको पनि टिप्पणी गरे ।

उनले भने, “अन्तरिम सरकारले पुरानै राजनीतिक पार्टीहरुको गलत संस्कार पुनर्जीवित गर्ने खालको अवस्था सिर्जना भयो र जेन–जी युवा पुस्तालाई पनि विभाजन गरिएको छ। जेन–जी विद्रोहले उठाएका मागलाई संस्थागत गर्न त सरकारको चासो छैन। त्यसकारण अन्तिम समयसम्म मैले नयाँ भनिएका समूहलाई समेत साथ लिएर समुन्नत नेपालको यात्रा तय गर्ने निर्णय गरेको हुँ। यहाँ कुनैपनि बाहिरी वादको आवश्यकता छैन,”।

अध्यक्ष खनालले विकासका कामहरू तीव्र गतिमा अघि बढाएर समुन्नत राष्ट्र निर्माणका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता रहेको पनि जोड दिए ।