काठमाडाैँ । धार्मिक तथा सामाजिक विषयमा उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका मुख्य तथा संवेदनशील क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पुस २१ गते दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिएका छन्।
यसअन्तर्गत, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम शान्ति सुरक्षा कायम राख्नका लागि तोकिएका क्षेत्रभित्र कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
निषेधाज्ञा लागू भएका क्षेत्रहरू पूर्वमा बसपार्क क्षेत्र, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शङ्कराचार्य गेट रहेको प्रशासनले जनाएको छ। आदेशको उल्लङ्घन गर्ने जोसुकैलाई नियन्त्रणमा लिई कानूनअनुसार कडा कारबाही गरिने चेतावनी पनि जारी गरिएको छ।
प्रशासनले पछिल्लो समय सुरक्षा संवेदनशीलता बढेको अवस्थालाई ध्यानमा राख्दै शान्ति कायम राख्न यो कदम चालिएको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्