काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व तथा थरुहट/थारुवान अभियन्ताबिच बृहत् राजनीतिक समायोजनका लागि सहमति भएको छ।
सहमति पत्रमा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित तथा थरुहट/थारुवान अभियन्ता लक्ष्मण थारु र सुरेन्द्र चौधरीले हस्ताक्षर गरेका छन्।
काठमाडौँमा आज सार्वजनिक गरिएको सहमति पत्रमार्फत सामाजिक न्याय, समुन्नति र सुशासनलाई केन्द्रमा राख्दै नयाँ राजनीतिक शक्तिको स्थापना गर्ने प्रतिबद्धता जनाइएको हो।
सहमति पत्रमा भ्रष्टाचार र कुशासनविरुद्ध गत भदौमा भएको जेन–जी आन्दोलनसहित विभिन्न कालखण्डका जनआन्दोलनका शहीद र घाइतेको बलिदानलाई स्मरण गर्दै ती आन्दोलनले उठाएका एजेन्डालाई संस्थागत गर्ने उल्लेख छ। दुवै पक्षले आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्यसहित गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमा केन्द्रित रहने प्रतिबद्धता जनाएका छन्।
सहमति अनुसार बृहत् समायोजनपछि स्थापित हुने दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ। पार्टीको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टी रहने, चुनाव चिन्ह ‘घण्टी’ नै कायम हुने र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने उल्लेख गरिएको छ। पार्टीले संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशी सिद्धान्त र संरचनागत विभेदविरुद्ध निर्णायक सम्बोधनमा जोड दिने जनाएको छ।
थारु समुदायको धार्मिक–सांस्कृतिक पहिचान संरक्षण र प्रवर्द्धनका लागि संविधानको धारा ५६ (५) को मर्मअनुसार थारु बहुल क्षेत्रलाई ‘विशेष क्षेत्र’ घोषणा गर्न कानुनी तथा संवैधानिक प्रक्रिया अघि बढाइने सहमतिमा उल्लेख छ।
साथै टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्दै संघीय सरकार गठन भएपछि शान्ति–सुरक्षासम्बन्धी उच्चस्तरीय आयोगका सिफारिस कार्यान्वयन गर्ने प्रतिबद्धता गरिएको छ।
निजामती, न्यायिक, प्रहरीलगायत सरकारी सेवामा आरक्षित वर्गका लागि तोकिएको अनुपातअनुसार थारु समुदायको आरक्षण पूर्ण रूपमा कार्यान्वयन गर्ने, भूगोल, जनसंख्या, सामर्थ्य र सांस्कृतिक पहिचानका आधारमा प्रादेशिक सुशासनका विषयमा सर्वदलीय सहमतिको पहल गर्ने विषय पनि सहमतिमा समेटिएको छ।
नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व तथा थरुहट/थारुवान अभियन्ताहरूलाई पार्टीको तहगत संरचनामा सम्मानजनक रूपमा समायोजन गर्दै रास्वपाको संगठनलाई थप फराकिलो र सक्षम बनाइने उल्लेख छ। साथै लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा गोलबद्ध हुन अन्य परिवर्तनकामी राजनीतिक शक्ति, समूह र व्यक्तिलाई समेत आव्हान गरिएको छ।




प्रतिक्रिया दिनुहोस्