काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सरकारको निर्णय बमोजिम गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका शहीहदहरूको परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ ।
तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासका निवर्तमान मन्त्री एवम् प्राधिकरण सञ्चालक समिति (बोर्ड)का अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा गत मङ्गलबार बसेको बोर्ड बैठकले शहीद परिवारका २७ जनालाई रोजगारी दिने निर्णय गरेको हो ।
जेन-जी शहीद परिवारका २७ जनाबाट रोजगारीका लागि निवेदन दिइएको थियो । निवेदकको यकिन गरी पायक पर्ने प्राधिकरणको कार्यालयमा निजको शैक्षिक योग्यताका आधारमा बढीमा तीन तहसम्मको पदमा करार नियुक्त गर्ने निर्णय भएको हो ।
सरकार र जेन-जी आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता, मन्त्रिपरिषद्बाट स्वीकृत सहायता सम्बन्धी कार्यविधि बमोजिम र शहीद परिवारका सदस्यका निवेदनका आधारमा २७ जनालाई रोजगारी दिने निर्णय भएको घिसिङले जानकारी दिए ।
कार्यविधिमा जेन-जी प्रदर्शनमा घाइते तथा अपाङ्ग भएको व्यक्ति वा नजिकको परिवारका सदस्य र शहीद परिवारको सदस्यलाई प्रचलित कानून बमोजिम निःशुल्क शिक्षा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत र रोजगारी सम्बन्धी व्यवस्था श्रम, रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद र उद्योग, वाणिज्य तथा आपूर्तिलगायतका विषयगत मन्त्रालयबाट मिलाउने गरी आवश्यक कार्य हुने व्यवस्था छ ।
आन्दोलनका क्रममा मृत्यु भएका ४५ जना व्यक्तिलाई सरकारले शहीद घोषणा गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्