काठमाडौँ । २०८२ मंसिर मसान्तमा नेपालको कुल विदेशी विनिमय सञ्चिती ३२ खर्ब १ अर्ब ४७ करोड रूपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रूपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति मंसिर महिनासम्म १९.६ प्रतिशतले वृद्धि भएको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ मङ्सिर मसान्तमा १३.५ प्रतिशतले वृद्धि भई २२ अर्ब १३ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये २०८२ मङ्सिर मसान्तमा नेपाल राष्ट्र बैंकमा २८ खर्ब ६६ अर्ब ४७ करोड रूपैयाँ सञ्चिती रहेको छ ।
२०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रूपैयाँ रहेकोमा २०८२ मङ्सिर मसान्तमा १८.७ प्रतिशतले वृद्धि भएको जनाएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रूपैयाँ रहेकोमा २०८२ मङ्सिर मसान्तमा २७.४ प्रतिशतले वद्धि भई ३ खर्ब ३५ अर्ब रूपैयाँ कायम भएको छ । २०८२ मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.२ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८२/८३ को पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०८२ मङ्सिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५२.४ प्रतिशत, १५१.९ प्रतिशत र ३९.४ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्