काठमाडौँ । नेपाल अटोमोबिल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) थापाथली क्याम्पससँगको सहकार्यमा आफ्नो मासिक ‘मोबिलिटी संवाद’को नवौँ शृङ्खला सफलतापूर्वक सम्पन्न गरेको छ।
क्याम्पस प्रमुख डा. खेम ज्ञवालीको अध्यक्षतामा आयोजित कार्यक्रमको मुख्य विषय ‘कम्प्लिट्ली नक्क्ड डाउन (सीकेडी) भेहिकल एसेम्बलीः अवसर, चुनौती र सम्भावना’ रहेको थियो।
डा. ज्ञवालीले लामो समयपछि उद्योग–शिक्षा सहकार्यमा आधारित यति महत्वपूर्ण कार्यक्रम आयोजना गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले व्यवहारिक सिकाइ, अनुसन्धान तथा उद्योगसँग सहकार्य विस्तारका लागि यस्ता संवाद अपरिहार्य भएको उल्लेख गर्दै कार्यक्रमको पहलका लागि नाइमा र अटोमोबिल एन्ड मेकानिकल इन्जिनियरिङ स्टुडेन्ट्स इनोभेटिभ नेक्सस (एमेसिन) लाई धन्यवाद दिए ।
करिब २०० जना सहभागी रहेको कार्यक्रममा प्राविधिक प्रस्तुति र प्यानल छलफल आयोजना गरिएको थियो। प्राविधिक प्रस्तुतीकरणको सहजीकरण थापाथली क्याम्पसका सहायक प्राध्यापक इञ्जिनियर लोचन केन्द्रीय देवकोटाले गरेका थिए। प्यानल छलफलमा यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक श्रीकान्त यादव, उद्योगपति तथा नाइमा बोर्ड सदस्य शेखर गोल्छा र थापाथली क्याम्पसका डेपुटी इन्स्ट्रक्टर इञ्जिनियर लक्ष्मण पालिखेल सहभागी रहेका थिए ।
कार्यक्रमको स्वागत मन्तव्य अटोमोबिल तथा मेकानिकल इन्जिनियरिङ विभागका प्रमुख इञ्जिनियर देवेन्द्रबहादुर राउत र नाइमा सदस्य तथा सारडा ग्रुपका निर्देशक गौरव सारडाले गरेका थिए । इञ्जिनियर राउतले राष्ट्रिय विकासका लागि स्थानीय उत्पादन अपरिहार्य रहेको उल्लेख गर्दै शैक्षिक र औद्योगिक क्षेत्रबीच अझ बलियो सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
गौरव सारडाले सीकेडी भेहिकल एसेम्बलीलाई ‘मेक इन नेपाल’ नीतिसँग जोडिएको व्यवहारिक औद्योगिक मोडेलका रूपमा व्याख्या गर्दै यसले दक्ष जनशक्ति विकास, युवा रोजगारी सृजना, प्रविधि स्थानान्तरण तथा स्थानीय आपूर्ति शृङ्खला विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
प्यानल छलफलका क्रममा वक्ताहरूले मानव स्रोत विकास, प्रविधि सुदृढीकरण र नीतिगत स्थायित्व बिना दिगो औद्योगिक विकास सम्भव नहुनेमा जोड दिए। भारत, चीन, ब्राजिल तथा अफ्रिकी मुलुकहरूको अनुभवले सीकेडी भेहिकल एसेम्बलीलाई औद्योगिकीकरणको प्रारम्भिक आधारका रूपमा सफल बनाएको उल्लेख गर्दै ‘मेक इन नेपाल’ सन्दर्भमा यसको दीर्घकालीन सम्भावनाबारे गहन छलफल गरिएको थियो।
कार्यक्रमको समग्र सहजीकरण नाइमा का कार्यकारी निर्देशक राजकुमार दुलालले गरेका थिए । उनले नाइमा मोबिलिटी संवादलाई आगामी दिनमा अझ फराकिलो सहकार्य र युवा सहभागिता अभिवृद्धिसहित निरन्तरता दिइने जानकारी दिए । साथै, यसको दशौँ शृङ्खला आईओई पुल्चोक क्याम्पसमा आयोजना गर्ने योजना रहेको पनि बताए ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारी र नाइमा बोर्ड सदस्य यमुना श्रेष्ठले दिएका थिए। वरिष्ठ प्रहरी उपरीक्षक अधिकारीले चालक, ट्राफिक प्रहरी र सरोकारवालालाई आधुनिक सवारी साधन प्रविधिबारे शिक्षित गर्नु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै उदीयमान सवारी प्रविधि तथा सफ्ट स्किल्ससम्बन्धी तालिम उपत्यकाका सम्पूर्ण ट्राफिक प्रहरीलाई प्रदान गर्ने नाइमा को पहलको उच्च प्रशंसा गरे। साथै, हालै ट्राफिक प्रहरी कार्यालयमा भएको क्षतिपछि नाइमा ले गरेको सहयोगप्रति उहाँले आभार व्यक्त गरे ।
नाइमा बोर्ड सदस्य यमुना श्रेष्ठले सीकेडी भेहिकल एसेम्बली, नीतिगत स्पष्टता तथा शैक्षिक संस्था, सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्र नेपालको अटोमोबिल उद्योगलाई दिगो र प्रतिस्पर्धी बनाउन सकिने धारणा व्यक्त गरिन्। मोबिलिटी संवादजस्ता पहलहरूले ज्ञान आदान–प्रदान, नीतिगत समझदारी र दीर्घकालीन औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने उनको विश्वास थियो।
नीति निर्माता, अटोमोबिल उद्योगका प्रतिनिधि, शैक्षिक विज्ञ, ट्राफिक प्रहरी, सञ्चारकर्मी, विद्यार्थी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा खुला अन्तरक्रिया तथा प्रश्नोत्तर सत्र पनि सञ्चालन गरिएको थियो।
विद्यार्थी संगठन एमेसिनको संयोजनमा सम्पन्न कार्यक्रममा सीकेडी भेहिकल एसेम्बलीमार्फत रोजगारी सृजना, सीप विकास, उत्पादकत्व वृद्धि र स्वदेशमै मूल्य शृङ्खला विस्तार गर्ने सम्भावनाबारे गहन छलफल गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्