द ब्रिटिश कलेजको अनुमति रद्द गर्न र ठगीमा संलग्नलाई कानुनी कारबाही गर्न विद्यार्थी संगठनहरूको माग


काठमाडौँ । काठमाडौँस्थित द ब्रिटिश कलेजले हस्पिटालिटी बिजनेस म्यानेजमेन्टलगायतका शैक्षिक कार्यक्रमहरू अवैध रूपमा सञ्चालन गरेको, अत्यधिक शुल्क असुलेको, फरक कोर्स पढाएको तथा भर्ना गरिएका विद्यार्थीहरूलाई युएईमा अलपत्र पारेको आरोप लगाउँदै विद्यार्थीहरू लामो समयदेखि आन्दोलनमा छन् ।

उक्त विषयमा संयुक्त विद्यार्थी संगठनहरूले संयुक्त प्रेस वक्तव्य जारी गर्दै कलेज प्रशासनमाथि आरोप लगाएका छन् । वक्तव्यमा समस्या समाधान र पीडित विद्यार्थीहरूलाई न्याय दिलाउन पटक–पटक सम्बन्धित निकायलाई दबाब दिँदा पनि उल्टै राज्य संयन्त्रको मिलोमतोमा कलेज सञ्चालकहरूले विद्यार्थीहरूमाथि धरपकड र गिरफ्तारी गरिरहेको उल्लेख गरिएको छ ।

विद्यार्थी संगठनहरूको आरोप अनुसार आन्दोलनरत विद्यार्थीहरूले आफ्ना समस्या राख्दा कलेज प्रशासनले गुण्डा परिचालन गरी धम्की दिने, त्रास देखाउने तथा पीडित विद्यार्थीहरूलाई झुटा र बनावटी मुद्दामा हिरासत पठाउनेजस्ता गतिविधि गरिरहेको छ । यस्ता क्रियाकलापप्रति संयुक्त विद्यार्थी संगठनहरूले घोर भर्त्सना र कडा निन्दा गरेका छन् ।

वक्तव्यमा कलेज प्रशासनले यस्ता गतिविधि तत्काल बन्द नगरे कडा प्रतिरोध गर्ने चेतावनी दिइएको छ । साथै, पीडित विद्यार्थीहरूलाई शीघ्र न्याय दिन, विद्यार्थी ठग्ने कार्यमा संलग्न द ब्रिटिश कलेजको अनुमति रद्द गर्न तथा ठगीमा संलग्न सबैमाथि कडा कानुनी कारबाही गर्न प्रहरी प्रशासन, शिक्षा मन्त्रालयलगायत सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ ।

विद्यार्थीहरूको न्यायपूर्ण आवाजलाई बेवास्ता गरिए शिक्षा क्षेत्रमा लुटको धन्दा चलाइरहेको द ब्रिटिश कलेजविरुद्ध संघर्ष गर्ने चेतावनी पनि संयुक्त विद्यार्थी संगठनहरूले दिएका छन् । वक्तव्यमा अनेरास्ववियू, अखिल (समाजवादी), अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन, अखिल नेपाल विद्यार्थी युनियनलगायत विभिन्न विद्यार्थी संगठनका अध्यक्ष तथा संयोजकहरूको हस्ताक्षर रहेको छ ।