देशलाई गर्व गर्ने विश्वकप बनाउँछौंः नेपाली टोली


नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आगामी आइसिसी टी ट्वान्टी विश्वकपका लागि तयारी राम्रो भइरहेको र देशलाई गर्व गर्न लायक प्रदर्शन गर्ने बताएका छन् । 

आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा टी ट्वान्टी विश्वकप आयोजना हुँदैछ । सोही विश्वकपको तयारी लागि नेपाली टोली आइतवार श्रीलंका प्रस्थान गर्दैछन् । त्यहाँ नेपाली टोलीले श्रीलंका ‘ए’ सँग तीन वटा टी ट्वान्टी खेल खेल्नेछन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले श्रीलंका ‘ए’ को टोली राम्रो हुने श्रीलंका क्रिकेटले आश्वासन दिएको बताए । विश्वकपअघि नेपाली टोलीले भारत र श्रीलंकामा गरेर कुल १२ दिनको तयारी गर्नेछ । नेपाली टोलीका कप्तान रोहितले यो तयारी पर्याप्त र राम्रो हुने भएकाले यसपल्टको विश्वकपमा देशले गर्व गर्न लायक प्रदर्शन गर्ने बताएका हुन् ।

उनले नेपाल प्रिमियर लिग (एनपिएल) पछि केही दिन विश्राम लिए पनि तयारी सुखद् रहेको उल्लेख गरे । तेस्रोपल्ट विश्वकप खेल्न आफ्नो टोली उत्साहित रहेको बताए । अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न पछिल्लो विश्वकपमा ब्याटिङका लागि पिच सहज नहुँदा रन बनाउन सबैलाई कठिन भएको रोहितले उल्लेख गरे । यद्यपि वाङ्खडेमा ‘हाइ स्कोरिङ’ पिच भएकाले ब्याटरहरूलाई सहज हुने उनको भनाइ छ ।

त्यहीअनुसार तयारी गरेको उनी बताउँछन् । यो पिचका लागि बलरले पनि राम्रो तयारी गर्नुपर्ने उनले उल्लेख गरे । नेपाली टोलीले चारै खेल वाङ्खडेमा खेल्ने तालिका छ । विश्वकपअगाडि नेपाली टोलीले दुई अभ्यास खेल वाङ्खडेभन्दा एक किलोमिटर मात्र टाढा रहेको बारबोर्न क्रिकेट स्टेडियममा (क्रिकेट क्लब अफ इण्डिया) खेल्नेछ । 

यो अभ्यास खेलले वाङ्खडेको कन्डिसनमा झिज्न नेपाली टोलीलाई मद्दत पु¥याउनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट लले भारत र श्रीलंकामा हुने अभ्यासमा नेपाली टोलीलाई विश्वकप लक्षित भुमिकामा तयार बनाउने बताए । विश्वकप खेल्नु खेलाडीसँगै प्रशिक्षक र म्यानेजमेन्टका लागि पनि गर्वको क्षण रहेको उल्लेख गर्दै उनले नेपालले गर्व गर्ने विश्वकप हुने आशा व्यक्त गरेका छन् ।

उनले पछिल्ला तीन हप्तादेखि विश्वकपका लागि तयारी पनि गरेको उल्लेख गरे । क्यानले शनिबार एक कार्यक्रमका बिच नेपाली टोलीलाई बिदाई गरेको थियो । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले नेपाली टोलीको बिदाई गरेका थिए ।

सो अवसरमा नेता शर्माले वेस्ट इन्डिजसँगको टी ट्वान्टी शृंखला जितेको नेपाली टोलीलाई पूर्वघोषित २० लाख रुपैयाँ पनि हस्तान्तरण गरे । आगामी विश्वकपमा सुपर आठमा पुगे २० लाख रुपैयाँ दिने उनले बताएका छन् । डा. शर्माले नेपाली राष्ट्रिय महिला र पुरुष टोलीका खेलाडी र परिवारलाई निशुल्क उपचार गराउँदै आएको उल्लेख गर्दै यो सम्झौता सकिए पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपाल सरकार समक्ष खेलाडी जीवनबाट अवकाशपछि उनीहरूलाई पेनसन दिन माग राखेका छन् । चतुरबहादुर चन्दले टेस्ट राष्ट्रसँग खेल्न नपाए पनि लगातार भइरहेको व्यस्तताले नेपाली टोलीको तयारी राम्रो भएको बताएका छन् । उनले नेपाली टोली सन्तुलित रहेको उल्लेख गर्दै नेपाली टोली सुपर आठमा पुग्ने आशा व्यक्त गरेका छन् । यसपल्ट नेपाली टोलीले देशलाई गर्व गर्न लायक बनाउने उनको विश्वास छ ।

क्यानका सचिव तथा नेपाली टोलीका पूर्वकप्तान पारस खड्काले नेपाली क्रिकेट टोलीबाट देशले धेरै आशा राखेको र विश्व क्रिकेटले पनि नियाली रहेको बताए । नेपाली क्रिकेट खेलाडी सबैका आदर्श पात्र रहेकाले विश्वकपका खेलले मात्र नभई त्यहाँ खेलाडीले गर्ने सबै गतिविधिले प्रभाव पार्ने भएकाले अनुशासित हुन पारसले सुझाव दिए ।

उनले विश्वकपपछि पनि एउटा टेस्ट राष्ट्रसँग खेल्नका लागि प्रक्रिया चलिरहेको बताएका छन् । वेस्ट इन्डिजसँगको जितपछि नेपाली टोलीमा उत्साह बढेकाले पनि टेस्ट राष्ट्रसँग शृंखला आयोजना गर्न लागिएको उनको भनाइ छ । उनले नतिजा आफू अनुकुल नभए पनि यो विश्वकप एउटा ठूलो अवसर पनि रहेको उनी बताउँछन् ।

पारसकै कप्तानीमा नेपालले पहिलोपल्ट सन् २०१४ मा बंगलादेशमा भएको टी ट्वान्टी विश्वकप खेलेको थियो । दोस्रो पल्ट विश्वकप खेल्न १० वर्ष लगाएको नेपालले तेस्रो विश्वकप भने लगातार खेल्दैछ । यस विश्वकपमा नेपाल समूह ‘सी’ मा छ । यस समूहमा इङ्ल्यान्ड, इटाली, वेस्ट इन्डिज र बंगलादेश छन् । –न्युज एजेन्सी नेपाल