उजुरीका आधारमा काठमाडौँका विभिन्न खाद्य व्यवसायमा आकस्मिक अनुगमन, नमूना सङ्कलन र कारबाही


काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उजुरी तथा गुनासोका आधारमा काठमाडौँका विभिन्न स्थानमा आकस्मिक बजार अनुगमन गरी खाद्य व्यवसायमाथि निरीक्षण र कारबाही गरेको छ।

विभागले ‘यापिड रेस्पोन्स मोडालिटी’मार्फत गत पुस २६ र २९ गते अनुगमन सञ्चालन गरेको हो। विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम निरीक्षण गर्दा गुनासोमा उल्लेख गरिएका विषयहरू पुष्टि भएसँगै आवश्यक कारबाही र निर्देशन दिइएको छ।

पुरानो बानेश्वरस्थित शनिबार लाग्ने हाट बजारमा इलामको नौनी घ्यू अर्गानिक हाट बजारका दुई व्यवसायीले ‘गाईको नौनी’ भनी विक्री वितरण गरिरहेको पदार्थको निरीक्षण गर्दा लेबल विवरण नै नखुलेको पाइयो। उक्त नौनीको नमूना सङ्कलन गरी थप अनुसन्धानका लागि विभागको प्रयोगशालामा पठाइएको विभागले जनाएको छ।

यसैगरी, चन्द्रागिरी नगरपालिका–८ मा रहेको अन्नपूर्ण मिनरल वाटर इण्डष्ट्रिजमा प्रशोधित पिउने पानीका जारभित्र लेउ भेटिएको तथा लिकेज भएका जार प्रयोग गरिएको भन्ने उजुरीका आधारमा गरिएको अनुगमनमा ४० थान पुराना तथा कोत्रिएका जार नष्ट गरिएको छ।

उद्योगको सरसफाइ अवस्था सामान्य रहेको जनाउँदै विभागले नियमित सरसफाइ गर्न, अभिलेख व्यवस्थित राख्न र मापदण्ड पालना गर्न निर्देशन दिएको छ। सो उद्योगबाट पनि पानीको नमूना संकलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ।

त्यस्तै, चन्द्रागिरी नगरपालिका–१२ स्थित भेराइटी इन्टरनेशनलमा उत्पादन मिति मेटाएर पुनः लेबलिङ गर्ने गरिएको भन्ने गुनासोको आधारमा गरिएको निरीक्षणमा खाद्य वस्तु भुईँमा सिधै सम्पर्क हुने गरी भण्डारण गरिएको पाइयो।

विभागले भण्डारण प्रणाली सुधार गर्दै प्यालेट प्रयोग गर्न निर्देशन दिएको छ। उद्योगको सरसफाइ अवस्था भने सन्तोषजनक रहेको विभागको भनाइ छ।

विभागले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने खाद्य वस्तुको उत्पादन, भण्डारण र विक्री वितरणमा कानुनी मापदण्ड कडाइका साथ पालना गर्न सबै व्यवसायीलाई आग्रह गरेको छ। यस्ता अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने विभागले जनाएको छ।