काठमाडाैँ । अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सरकार, निजी क्षेत्र र नागरिकको सहकार्यबाट उर्जा क्षेत्रलाई देशको समृद्धिको आधार बनाउन सकिने बताएका छन् ।
२६ औँ इप्पान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले नेपालको जलस्रोतको बहुआयामिक उपयोग तथा स्वच्छ उर्जामार्फत समृद्धि हासिल गर्ने सम्भावना प्रचुर रहेको उल्लेख गरेका हुन्।
जलविद्युतलाई स्वच्छ उर्जाको रूपमा विकास र प्रवर्द्धन गर्न राज्यले प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। जलविद्युतसँगै सौर्य उर्जा तथा अन्य वैकल्पिक उर्जा स्रोतलाई पनि समान महत्व दिनुपर्ने आवश्यकता औँल्याए।
उनले जलविद्युत उत्पादनमा देखिएको उत्साहजनक लगानी र विकासका सम्भावनाबीच घरेलु कृषि, व्यावसायिक उद्योग, यातायात, निर्माण र खानीजस्ता क्षेत्रमा प्रयोग हुँदै आएको परम्परागत उर्जालाई क्रमशः स्वच्छ तथा नवीकरणीय विद्युत उर्जाले प्रतिस्थापन गर्ने गरी नीतिगत र कार्यक्रमगत प्राथमिकता तय गर्नुपर्ने बताए ।
कानूनी जटिलताका विषयमा बोल्दै मन्त्री सिन्हाले यसबारे निजी क्षेत्रसँग समेत आफ्नो गुनासो रहेको स्पष्ट पार्नुभयो। करिब १५ वर्षअघि कति कानून आवश्यक छन् र कति कानूनको अन्तरसम्बन्धका कारण समस्या उत्पन्न भएको छ भन्ने विषयमा अध्ययन भए पनि त्यसको कार्यान्वयनमा ठोस पहल हुन नसकेको उनको भनाइ छ।
उक्त अध्ययनले ३१ वटा कानूनको अन्तरसम्बन्ध सरलीकरण गर्नुपर्ने र वन तथा वातावरणसम्बन्धी समस्या समाधानका लागि एकद्वार प्रणाली अपनाउनुपर्ने सुझाव दिएको भए पनि हालसम्म त्यसमा प्रगति हुन नसकेको उनले उल्लेख गरे ।
मन्त्री सिन्हाले उर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको लगानी तथा सार्वजनिक–निजी साझेदारीका सफल अभ्यासलाई सरकारले अर्थतन्त्रका अन्य क्षेत्रमा पनि सिकाइका रूपमा लिइरहेको जानकारी दिए । विद्युतीय क्षेत्रमा उदारीकरणसँगै विदेशी लगानीको आगमन बढ्दै गएको उनको भनाइ छ।
उर्जा उत्पादनसँगै मुलुकको अर्थतन्त्रको विकास, बजार विस्तार र व्यवसायीकरणमा स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल (इप्पान) ले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै मन्त्री सिन्हाले उर्जा क्षेत्रको थप विकासका लागि लगानीमैत्री वातावरण बनाउन सरकार सक्रिय रूपमा लागिरहेको बताए ।


प्रतिक्रिया दिनुहोस्