खाद्य विभागद्धारा काठमाडौँका दुई होटलमा अनुगमन, म्याद गुज्रिएको खाद्यवस्तु र तेल नष्ट


काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौँ महानगरपालिकाको संयुक्त प्राविधिक टोलीले काठमाडौँ उपत्यकामा सञ्चालित होटल तथा रेष्टुरेन्टहरूमा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी निरीक्षण अनुगमन गरेको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका–३२, पेप्सीकोलास्थित दाउरा थकाली प्रा.लि.मा सरसफाइ समग्रमा सन्तोषजनक देखिए पनि केही कमजोरी भेटिएको विभागले जनाएको छ।

अनुगमनका क्रममा फ्राइङ तेलको टिएमपी परीक्षण गर्दा १२.५ पाइएको, कीरा नियन्त्रणको व्यवस्था भए पनि ड्रेनेज पाइपलाइन अव्यवस्थित रहेको पाइएको थियो।

यस्तै, भाँडा माझ्ने स्थान पकाउने स्थानसँगै र खुला अवस्थामा रहेको तथा तयारी खाद्यवस्तु नछोपी राखिएको अवस्था भेटिएको जनाइएको छ। यस होटललाई ड्रेनेज पाइपलाइन र भाँडा माझ्ने स्थान व्यवस्थित गर्न, कामदारका लागि चेन्जिङ रुमको व्यवस्था गर्न तथा अभिलेख व्यवस्थापन गर्न निर्देशन दिइएको छ।

यसैगरी, काठमाडौँ महानगरपालिका–३२ अन्तर्गत सिनामंगल क्षेत्रको मटन स्टेशन प्रा.लि. मा गरिएको अनुगमनका क्रममा फ्राइङ तेलको टिएमपी मान ३०.५ पाइएको विभागले जनाएको छ। मापदण्डभन्दा बढी टिएमपीः देखिएपछि करिब पाँच लिटर फ्राइङ तेल नष्ट गरिएको छ।

साथै, उपभोग्य मिति गुज्रिसकेको स्टीम चाउचाउ (१ केजीका ३ प्याकेट) पनि नष्ट गरिएको विभागको भनाइ छ। अनुगमनका क्रममा भाँडा माझ्ने स्थान पकाउने स्थानसँगै रहेको, फोहोर फाल्ने भाँडो व्यवस्थित नरहेको, स्टोरमा खाद्यवस्तु अव्यवस्थित रूपमा भण्डारण गरिएको तथा तयारी खाद्यवस्तु खुला रूपमा राखिएको अवस्था भेटिएको थियो ।

विभागले मटन स्टेशन प्रा.लि. लाई पकाइने खाद्यवस्तुमा कृत्रिम खाद्य रङ प्रयोग नगर्न, तयारी खाद्यवस्तु छोपेर राख्न र सम्पूर्ण कैफियत सुधार गरी खाद्य स्वच्छता कायम गर्दै व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ।