काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले निजी क्षेत्रलाई पावर ट्रेडिङ र प्रशारण लाइन सञ्चालनमा भित्र्याउन प्राधिकरण सकारात्मक रहेको बताएका छन्।
स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) को वार्षिकोत्सव समारोहमा बोल्दै उनले आन्तरिक बजारमा खपत नहुने बिजुली विक्री गर्न निजी क्षेत्रलाई लाइसेन्स दिने प्रक्रियामा प्राधिकरण अघि बढिरहेको जानकारी दिए ।
शाक्यका अनुसार प्राधिकरणसँग भएका विद्युत् खरिद सम्झौता (पीपीए) हरूमा गृहकार्य मुख्य रूपमा आन्तरिक बजारमा नखपत हुने बिजुली भारत लगायत बाह्य बजारमा बेच्न केन्द्रित थियो। यस प्रयासलाई निजी क्षेत्रलाई बिजुली विक्रेताका रूपमा भित्र्याउने पहिलो कदमको रूपमा हेरिएको छ।
कार्यकारी निर्देशक शाक्यले प्राधिकरणले निजी क्षेत्रलाई प्रशारण लाइनमा भित्र्याउन आवश्यक तयारी अगाडि बढाएको समेत जानकारी दिए ।उनले भने, “प्राइभेट सेक्टरलाई पावर ट्रेडमा ल्याउन खुला पहुँच अपरिहार्य छ। ट्रान्समिसन लाइनमा निजी क्षेत्रलाई प्रवेश दिन ब्रेकथ्रु भइसकेको छ र सरकारले केही मोडलहरू पारित गरिसकेको छ। तर, ट्रान्समिसन शुल्क निर्धारण अझै छलफलको चरणमा छ।”
ट्रेडिङ लाइसेन्स दिन सकिने व्यवस्था भए तापनि त्यसका लागि नियमावली तयार पार्न आवश्यक रहेको उनले उल्लेख गरे । नियमावली नबन्दा हाल वैकल्पिक रूपमा नेपाल पावर ट्रेडिङ कम्पनीलाई सञ्चालनमा ल्याउने निर्णय गरिएको छ। यस कम्पनीलाई अब पूर्ण रूपमा अपरेशनलाइज गरेर अगाडि बढाइने छ। सरकारी कम्पनीहरूसँग पीपीए गरी आवश्यक परे आन्तरिक बजार र भारतमा बिजुली विक्री गर्न सकिने शाक्यले जानकारी दिए ।
कार्यकारी निर्देशक शाक्यले निजी क्षेत्रलाई ट्रेडिङ लाइसेन्स दिए पनि अनुगमन र नियमन गर्ने स्वतन्त्र निकाय नभए प्रभावकारी नहुने दृष्टिकोण राखेका छन्। साथै, घरेलु बजार (डोमेस्टिक मार्केट) खडा गर्न र ट्रेडिङ व्यवस्थित गर्न खुला पहुँच अपरिहार्य रहेको उनले जोड दिए।
उनले थपे, “पावर ट्रेडर र ट्रान्समिसन लाइन अपरेटरको हिसाबले निजी क्षेत्र आउन विद्युत् प्राधिकरणले धारणा व्यक्त गरिसकेको छ। यसको लागि गृहकार्य भइरहेको छ। निजी क्षेत्रलाई बिजुली विक्रेताका रूपमा भित्र्याउने प्रयास जारी छ। ट्रान्समिसन लाइनमा पनि त्यस्तै तयारी छ। नेपाल पावर ट्रेडिङ कम्पनीमार्फत पावर ट्रेडिङ सञ्चालन गरेर आवश्यकता अनुसार आन्तरिक र बाह्य बजारमा बिजुली बेच्न सकिन्छ। डोमेस्टिक मार्केटका लागि ट्रेडिङ पहुँच आवश्यक छ र यसमा खुला पहुँच अपरिहार्य छ।”


प्रतिक्रिया दिनुहोस्