काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकाभित्र प्रशोधित पिउने पानी उत्पादन गर्ने एक उद्योगमा अनुगमन तथा कारबाही गरेको छ।
विभागका अनुसार गत पुस ३० गते उजुरी सम्बोधनका क्रममा भक्तपुरको सूर्यविनायक नगरपालिका–९ मा रहेको नन्दीकेश्वर बोतल ब्लोइङ्ग प्रा. लि.को निरीक्षण अनुगमन गरिएको हो। उक्त उद्योगविरुद्ध दूषित पानी उत्पादन भइरहेको भन्ने उजुरी परेपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम अनुगमन गरिएको विभागले जनाएको छ।
निरीक्षणका क्रममा उद्योगको समग्र सरसफाइ तथा कामदारको व्यक्तिगत सरसफाइ सन्तोषजनक नरहेको पाइएको विभागले उल्लेख गरेको छ। पानी प्रशोधन कक्षमा रहेको ट्यांकी र पाइपहरू लिकेज अवस्थामा भेटिनुका साथै टायल फुटेको र कक्षभित्र अनावश्यक सामग्री राखिएको पाइएको छ।
अनुगमनपछि विभागले उद्योगलाई सरसफाइ तथा कामदारको व्यक्तिगत स्वच्छतामा विशेष ध्यान दिन निर्देशन दिएको छ। साथै प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४ अनुसार काम कारबाही अगाडि बढाइने जनाएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम प्रशोधित पिउने पानी (जार) को नमुना संकलन गरिएको र पुरानो, कुच्चिएको तथा कोत्रिएको अवस्थामा रहेका १० ओटा जार नष्ट गरिएको विभागले जनाएको छ।
विभागले उद्योगलाई देखिएका कैफियत सुधार गरी १५ दिनभित्र प्रमाणसहित कार्यालयमा पेश गर्न निर्देशन दिएको छ।


प्रतिक्रिया दिनुहोस्