चीनको गुइझोउमा केरा खेतीमा प्रविधिः ड्रोनको प्रयोगले बढायो उत्पादकत्व


दक्षिण–पश्चिम चीनको गुइझोउ प्रान्तमा केरा खेती गर्ने किसानका लागि पछिल्लो समय ड्रोन प्रविधि वरदान सावित भएको छ ।

दुर्गम पहाडी भेगमा अवस्थित गुइझोउका मुख्य केरा उत्पादन क्षेत्रहरूमा परम्परागत रूपमा हातैले केरा ओसारपसार गर्दा हुने ढिलाइ र कष्टलाई कम गर्न ड्रोनको व्यापक प्रयोग शुरु गरिएको छ ।

चीनको सेहेङ काउन्टीस्थित यान्जिया टाउनमा गरिएको यो प्रविधिको प्रयोगले कृषि क्षेत्रमा आधुनिक औद्योगिकीकरणको नयाँ ढोका खोलेको छ ।

एकपटकमा १०० किलोग्रामसम्म केरा बोक्न सक्ने क्षमता भएको ड्रोनले निकै कम समयमा उत्पादनलाई बजार वा संकलन केन्द्रसम्म पुर्याउन मद्दत गरिरहेको छ ।

प्राप्त तथ्यांकअनुसार यस्तो एक ड्रोनले एकतर्फी यात्राका लागि जम्मा दुईदेखि तीन मिनेटको समय मात्र लगाउँछ । यसअघि परम्परागत विधिबाट एकजना व्यक्तिले दिनभरिमा मुस्किलले ५०० किलोग्राम केरा मात्रै ओसार्न सक्थ्यो ।

तर ड्रोनको प्रयोगले सोही समय अवधिमा ५ देखि ८ टनसम्म केरा ढुवानी गर्न सम्भव भएको छ । यस प्रविधिले किसानको श्रम लागत घटाउनुका साथै उत्पादित केराको गुणस्तर कायम राख्न पनि ठूलो भूमिका खेलेको छ ।

पहाडी इलाकाका कठिन बाटोमा भारी बोकेर हिँड्नुपर्ने किसानहरूको बाध्यतालाई ड्रोनले हटेपछि स्थानीयस्तरमा कृषि उत्पादनको बिक्री र वितरणमा समेत तिब्रता आएको छ ।

सरकारी निकाय र स्थानीय कृषि सहकारीहरूले यो प्रविधिलाई थप प्रभावकारी बनाउन आधुनिक सञ्जाल विस्तार गरिरहेका छन् ।